२०८३ साउन ९ , शनिबार
ग्रेटर घण्टाघर

एउटै पार्कमा १० जिल्लाको पहिचान राखिने



सुर्खेत । सुर्खेतको मुटु वीरेन्द्रनगर नगरपालिकाले आफ्नो ऐतिहासिक पहिचान बोकेको घण्टाघर क्षेत्रलाई थप व्यवस्थित, आधुनिक र पर्यटकीय हबका रूपमा विकसित गर्ने उद्देश्यले विभिन्न आकर्षक संरचनासहितको ‘ग्रेटर घण्टाघर’ निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। नगरपालिकाले साविकको घण्टाघर पार्क र पार्कभन्दा बाहिरको आसपासका क्षेत्रदेखि लिएर नगर कार्यपालिकाको कार्यालय वरपरको क्षेत्रलाई समेत समेटेर बृहत्तर पूर्वाधार निर्माणको काम सुरु गरेको हो। वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर हरि केसीका अनुसार यो आयोजना केवल एउटा पार्क मात्र नभएर समग्र कर्णाली प्रदेशकै ऐना बन्नेछ, जहाँ कर्णालीका १० वटै जिल्लाका अद्वितीय सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको जीवन्त झल्को देख्न पाइने गरी ‘ग्रेटर घण्टाघर’ को गुरुयोजना अघि सारिएको छ।

यस महत्त्वाकाङ्क्षी ग्रेटर घण्टाघर योजनाअन्तर्गत अत्याधुनिक र व्यवस्थित पार्क, चौडा फोरलेन सडक, विभिन्न सभा-समारोह तथा सांस्कृतिक कार्यक्रमहरूका लागि सुविधासम्पन्न सभाहल, र पारिवारिक रूपमा शितलता साटासाट गर्दै बस्न मिल्ने आकर्षक विश्रामस्थलहरू निर्माण गर्ने लक्ष्य राखिएको छ। वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि नै यस योजनाको प्रारम्भिक काम आरम्भ गरेको थियो, जसअन्तर्गत अहिले घण्टाघर पार्कभित्र विभिन्न मनमोहक संरचनाहरू धमाधम तयार भइरहेका छन्। पार्कको पश्चिमतर्फ रहेको खाली भूभागलाई सम्याएर खुला उद्यान (ओपन पार्क) को रूप दिइसकिएको छ भने नेकपा (एमाले) सुर्खेतको पार्टी कार्यालयभन्दा उत्तर-पूर्वमा पर्ने, यसअघि नगरपालिकाले गैरकानुनी अतिक्रमणबाट खाली गराएको क्षेत्रमा एउटा भब्य मण्डलासहितको पार्क निर्माण भइरहेको छ। इन्जिनियर केसीले उक्त मण्डला निर्माणको काम अहिले अन्तिम चरणमा पुगिसकेको जानकारी दिएका छन्।

नगरपालिकाले घण्टाघरको ऐतिहासिक विरासतको संरक्षण गर्दै यसलाई प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य बनाउन उच्च प्राथमिकतामा राखेर आफ्ना सम्पूर्ण स्रोतसाधन परिचालन गरेको छ। यसै सिलसिलामा आर्थिक वर्ष २०७९/८० मा घण्टाघरको दशकौँ पुरानो र जीर्ण भइसकेको बाहिरी पर्खाल हटाएर नयाँ आकर्षक पर्खाल निर्माण गरिएको थियो। दुई चरणमा ठेक्का व्यवस्थापन गरेर निर्माण कार्य अघि बढाइएको घण्टाघरको उत्तर, पश्चिम र दक्षिणतर्फको प्रबर्द्धनात्मक काम ४० लाख ४७ हजार ८ सय १९ रुपियाँको लागतमा अघिल्लो वर्ष नै सफलतापूर्वक सम्पन्न भइसकेको छ। बाँकी रहेका अन्य सौन्दर्यीकरण र पूर्वाधारका कामहरू पनि दु्रत गतिमा अघि बढेकाले आगामी दिनमा ग्रेटर घण्टाघरले वीरेन्द्रनगर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ठूलो भूमिका खेल्ने विश्वास नगरवासीले लिएका छन्।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार