२०८३ साउन ८ , शुक्रबार
टी-२० क्रिकेट प्रतियाेगिता

१२ रनले माउण्ट एभरेष्ट हराउँदै उषाले चुम्याे उपाधि



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित विद्यालयस्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उषा बालबाटिका आवासीय माध्यमिक विद्यालयले चुमेको छ। मंगलबार कालुङचोक मैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा माउण्ट एभरेष्ट माध्यमिक विद्यालयमाथि १२ रनको कठिन जित निकाल्दै उषा बालबाटिकाले नगद ५१ हजार रुपैयाँसहित प्रतियोगिताको मुख्य ट्रफी आफ्नो पोल्टामा पारेको हो। खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको उषा बालबाटिकाले निर्धारित २० ओभरमा आफ्ना सबै विकेट गुमाउनुअघि १ सय १८ रनको मध्यम स्कोर खडा गरेको थियो। उषाका लागि मोहम्मद अफराज आलमले क्रिजमा आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा ६ चौका र १ छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए भने विकेटकिपर जेनिसराज भण्डारीले २० रन, कप्तान सुवास शाहीले १२ रन र शिव सुनारले १२ रन जोडे। बलिङतर्फ माउण्ट एभरेष्टका बलर रमबेश शाहीले घातक बलिङ गर्दै महत्वपूर्ण ४ विकेट र प्रतियोगिताकै उदीयमान खेलाडी चुनिएका मिथुन बुढाले ३ विकेट लिएर उषालाई सस्तैमा समेट्न मुख्य भूमिका खेलेका थिए।

जवाफमा १ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रिएको माउन्ट एभरेष्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो र उपविजेतामै चित्त बुझाउन बाध्य भयो। एभरेष्टका कप्तान मनिष ओलीले ६४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रनको उत्कृष्ट र कप्तानी इनिङ खेले पनि टोलीलाई जितको सङ्घारसम्म पुर्‍याउन सकेनन्। प्रतियोगिताभर कुल २४३ रन बनाएका उनी सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) घोषित भए। एभरेष्टका लागि आयुष कोइरालाले २४ रन र यजुर्वेद गिरीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्क समेत जोड्न सकेनन्। माउण्ट एभरेष्टका ब्याटरहरूलाई रोक्न उषा बालबाटिकाका बलर अस्मित बी.सी. ले कसिलो बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र ११ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए।

त्यस्तै, किरण चन्द र कप्तान सुवास शाहीले समान १–१ विकेट हात पारे भने खेलको अन्तिम (डेथ) ओभरहरूमा मिराज खड्का र मोहम्मद अफराज आलमले विकेट लिन नसके पनि किफायती बलिङ गरेर माउन्ट एभरेष्टका ब्याट्सम्यानहरूलाई क्रिजमा दबाबमा राखेका थिए। यसैगरी, प्रतियोगिताभर कुल १३ विकेट लिन सफल प्रज्ञा पाठशालाका रोनिश रावलले उत्कृष्ट बलरको उपाधि हात पारे भने अनुशासित टिमको पुरस्कार पनि प्रज्ञा पाठशालाले नै प्राप्त गर्‍यो। गत असार २ गतेदेखि सुरु भएको यस विद्यालयस्तरीय क्रिकेट महाकुम्भमा सुर्खेतका कुल २३ वटा विद्यालयका टोलीहरूले सहभागिता जनाएका थिए।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार