२०८३ साउन ९ , शनिबार
तेस्रो काँक्रेबिहार हाफ म्याराथन

जुम्लाका राजनले जिते उपाधि, १० किलोमिटरमा सन्तोषी प्रथम



सुर्खेत । विश्व ‘ओलम्पिक डे’ को विशेष अवसर पारेर सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको प्रतिष्ठित तेस्रो काँक्रेबिहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले जितेका छन्। ‘दौडिन्छ कर्णाली’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश खेलकुद विकास परिषद् र एक्सट्रीम इनर्जी ड्रिङ्कको आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको व्यवस्थापनमा आयोजित २१ किलोमिटर दूरीको मुख्य हाफ म्याराथन राजनले निर्धारित दूरी १ घण्टा ९ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै आफ्नो नाममा पारेका हुन्। उपाधिसँगै उनले नगद १ लाख ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे। सोही स्पर्धामा कडा प्रतिस्पर्धा गर्दै १ घण्टा ९ मिनेट ३९ सेकेण्डमा दौड पूरा गरी कालिकोटका विनोद रोकाय दोस्रो बन्न सफल भए भने १ घण्टा १० मिनेट २८ सेकेण्डको समय निकाल्दै विभागीय टोली एपीएफका भेट्रान धावक गोपीचन्द्र पार्की तेस्रो भए। दोस्रो र तेस्रो स्थान हासिल गर्ने विनोद र गोपीचन्द्रले क्रमशः नगद ७५ हजार र ५० हजार रुपैयाँसहित प्रमाणपत्र पुरस्कार पाए।

​यसैगरी, महिलातर्फको खुला १० किलोमिटर दौडको उपाधि अन्तर्राष्ट्रिय धाविका एवं धादिङकी सन्तोषी श्रेष्ठले आफ्नो पोल्टामा पारेकी छिन्। उनले निर्धारित दूरी ३६ मिनेट ४०.६० सेकेण्डमा पार गर्दै स्वर्ण पदक र नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र जितिन्। उक्त स्पर्धामा ३७ मिनेट ०३.११ सेकेण्डको समय निकाल्दै जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो भइन् भने बाजुराकी सिर्जना पाण्डेले ३९ मिनेट २८.८८ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान सुरक्षित गरिन्। उनीहरूले क्रमशः नगद २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। विद्यालय स्तरका छात्रछात्राको प्रतिभा उजागर गर्न आयोजित ५ किलोमिटर दौडको छात्रातर्फ सुर्खेतकी कृष्णा रानाले २० मिनेट ३४.०२ सेकेण्डमा दूरी पार गर्दै उपाधि र नगद १० हजार रुपैयाँ जितिन् भने जुम्लाकी अन्तिमा बुढा दोस्रो र बाँकेकी स्वस्तिका शाही तेस्रो हुँदै क्रमशः ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउन सफल भए।

​त्यस्तै, ५ किलोमिटरकै छात्रतर्फको स्पर्धामा कालिकोटका अनिल शाहीले निकै रोमान्चक जित दर्ता गरे। उनले १५ मिनेट ३६.१ सेकेण्डमा दौड पूरा गरी उपाधिसहित नगद १५ हजार रुपैयाँ हात पारे। सोही स्पर्धामा मात्र ०.२ सेकेण्डको झिनो अन्तरले पछि पर्दै १५ मिनेट ३६.३ सेकेण्डमा दूरी पार गरेका जुम्लाका युवकराज बुढा दोस्रो भए भने १६ मिनेट ४३.३ सेकेण्डको समयसहित सुर्खेतका भुवन चालिसेले तेस्रो स्थानमा चित्त बुझाए। दोस्रो र तेस्रो हुने छात्रहरूले क्रमशः ५ हजार र ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरे। कर्णालीमा दौड संस्कृतिको प्रवर्द्धन र राष्ट्रिय स्तरका धावकहरूको जमघटका कारण यो म्याराथन निकै भव्य र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार