२०८३ साउन १० , आइतबार
स्थानीय खबर

सवारी दुर्घटना रोक्ने‌ सामुहिक प्रतिवद्धता



सुर्खेत । कर्णाली प्रदेशमा बर्सेनि भयावह बन्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि मुख्यमन्त्री यामलाल कँडेलसहित प्रदेशका उच्च पदस्थ अधिकारी र सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीका अवसरमा ‘म गर्छु ट्राफिक नियमको पालना, घटाउँछु सवारी दुर्घटना’ भन्ने मूल नाराका साथ तयार पारिएको विशेष प्रतिबद्धता पत्रमा मुख्यमन्त्री कँडेलसहित वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर गुरुङ र कर्णाली प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा लगायतले आफ्नो हस्ताक्षरसहित सामूहिक ऐक्यबद्धता जनाएका हुन्। गोष्ठीमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा मात्रै दैनिक ३ देखि ४ वटासम्म सवारी दुर्घटना हुने गरेका छन् भने प्रत्येक ३ देखि ४ दिनको अन्तरालमा औसत १ जना नागरिकले सडक दुर्घटनाकै कारण अकालमा ज्यान गुमाउनुपरेको विदारक स्थिति छ।

​नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्दप्रसाद रिजालले विश्व स्वास्थ्य संगठनको प्रतिवेदनलाई उद्धृत गर्दै नेपालमा मात्रै दैनिक ५ देखि ७ जना र वार्षिक झण्डै ३ हजार मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गरे। कर्णाली प्रदेशको अवस्था झनै जटिल बन्दै गएको भन्दै एसपी रिजालले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म मात्रै प्रदेशमा ११ सय १५ वटा सवारीसाधन दुर्घटनामा परेको जानकारी दिए। जसमा परि १ सय २३ जनाको मृत्यु भइसकेको छ भने ९ सय ८० जना गम्भीर र १ हजार १ सय ८५ जना सामान्य घाइते भएका छन्। यसअघि आर्थिक वर्ष २०८१/८२ मा ९ सय ६८ दुर्घटना हुँदा १ सय ३३ जना, आर्थिक वर्ष २०८०/८१ मा १ हजार ८६ दुर्घटनामा परि १ सय १२ जना र आर्थिक वर्ष २०७九/८० मा ५ सय ४९ दुर्घटनामा परि १ सय ३१ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्कले देखाउँछ, जसले कर्णालीमा बर्सेनि सडक दुर्घटना र मानवीय क्षति स्थिर वा बढ्दो क्रममा रहेको पुष्टि गर्छ।

​भौगोलिक रूपमा विकट र कुल ९ हजार ७ सय १५ किलोमिटर सडक सञ्जाल रहेको कर्णाली प्रदेशमा ट्राफिक व्यवस्थापनका लागि जम्मा २ सय २० जना मात्रै ट्राफिक प्रहरीको जनशक्ति उपलब्ध छ। यस हिसाबले कर्णालीमा प्रति ट्राफिक प्रहरीले औसत १ सय ८८ वटा सवारीसाधनको निगरानी गर्नुपर्ने बाध्यता रहेको छ। ट्राफिक प्रमुख रिजालले सीमित जनशक्ति र न्यून स्रोतसाधनका बीच काम गर्नुपर्दा ठूलो चुनौती थपिएको गुनासो गरे। कर्णालीमा तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरे पनि गति नियन्त्रणका लागि आवश्यक पर्ने स्तरीय ‘राडर गन’ जस्ता प्रविधिको अभाव रहेको र दुर्घटना भइहालेमा घाइतेहरूको तत्काल उद्धारका लागि दक्ष स्वास्थ्यकर्मीसहितको सुविधासम्पन्न ‘रेस्क्यु भ्यान’ को अत्याधिक आवश्यकता रहेको उनले औँल्याए।

​गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले ट्राफिक प्रहरीले झेल्नुपरेका यी समस्या र आवश्यकतालाई प्रदेश सरकारले गम्भीरतापूर्वक महसुस गरेको बताउँदै घाइतेहरूको छिटो उद्धारका लागि ‘रेस्क्यु भ्यान’ को व्यवस्थापन गर्न सरकारले तत्काल ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। पछिल्लो समय ट्राफिक प्रहरीले सञ्चालन गरेका जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी बन्दै गएकोमा प्रशंसा गर्दै मुख्यमन्त्री कँडेलले इन्जिनियरिङ डिजाइन बिना, हचुवाका भरमा र राजनीतिक शक्तिका आडमा जथाभाबी खनिएका ग्रामीण सडकहरू नै दुर्घटनाको मुख्य कारक रहेको दाबी गरे। यस्ता सडकले एकातिर राज्यको ठूलो पैसा बालुवामा पानी भइरहेको र अर्कोतिर नागरिकको ज्यान गइरहेको उनको भनाइ थियो। उनले शान्ति सुरक्षा र न्याय दिने प्रहरी संगठन आफैँ स्रोतसाधनको अभावमा असुरक्षित देखिनु चिन्ताको विषय भएको भन्दै कर्णाली सरकारले प्रहरीलाई आवश्यक सहयोग जारी राख्ने बताए। यसैबीच, सोही कार्यक्रममा विगत २८ वर्षदेखि लामो दूरीको सुर्खेत–काठमाडौँ बस सेवामा निरन्तर आबद्ध रही आफ्नो सम्पूर्ण सेवा अवधिभर कुनै पनि दुर्घटना नगराई यात्रुहरूलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन सफल ५२ वर्षीय चालक भीमबहादुर बोहरालाई उच्च सम्मान समेत गरिएको छ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार