सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनदेखि सञ्चालन भइरहेको ४६ औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुमेको छ। आइतबार सम्पन्न प्रतियोगिताका ट्र्याक र फिल्डका अधिकांश विधाहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले १७ स्वर्ण, १२ रजत र ७ कास्यसहित कुल ३६ पदक जितेर प्रथम स्थान हासिल गर्न सफल भएको हो। यसैगरी ८ स्वर्ण, ७ रजत र ३ कास्यसहित कुल १८ पदक हात पार्दै नेपाल पुलिस क्लब प्रतियोगितामा दोस्रो भएको छ भने २ स्वर्ण, १ रजत र १ कास्यसहित कुल ४ पदक जितेर बागमती प्रदेशले तेस्रो स्थानमा चित्त बुझाएको छ। राष्ट्रिय स्तरको यो खेलकुद महाकुम्भ पदक तालिकाका हिसाबले मात्र नभई नेपाली एथलेटिक्सको इतिहासमै चार वटा नयाँ राष्ट्रिय कीर्तिमान (रेकर्ड) कायम गर्न सफल ऐतिहासिक संस्करण बनेको छ।

यस प्रतियोगितामा नेपाल पुलिस क्लबकी जयरानी थारुले खेल मैदानमा आफ्नो जादुमयी प्रदर्शन गर्दै दोहोरो कीर्तिमान आफ्नो नाममा लेखाइन्। जयरानीले ४ सय मिटर दौड मात्र ५७.१९ सेकेण्डमा पूरा गर्दै नवौँ राष्ट्रिय खेलकुदमा एपीएफकी रमिता थारुले बनाएको ५८.१० सेकेण्डको पुरानो राष्ट्रिय रेकर्डलाई ध्वस्त पारिन्। जयरानीले यतिमा मात्रै चित्त नबुझाई ट्रिपल जम्प विधामा समेत पुलिस क्लबकै पूर्व खेलाडी केसरी चौधरीले बनाएको १२ मिटर २० सेन्टिमिटरको ऐतिहासिक रेकर्डलाई तोड्दै १२ मिटर ४९ सेन्टिमिटरको नयाँ राष्ट्रिय रेकर्ड कायम गरिन्। यस्तै, १६ सय मिटरको महिला रिले दौडमा त्रिभुवन आर्मी क्लबका धाविकाहरूले ४.२ सेकेण्डको पुरानो रेकर्डलाई उछिनेर ४.० सेकेण्डको नयाँ राष्ट्रिय रेकर्ड आफ्नो नाममा बनाउन सफल भए। पुरुषतर्फ पनि त्रिभुवन आर्मी क्लबकै सलिम देवानले लङजम्प विधामा आठौँ राष्ट्रिय खेलकुदको ७ मिटर ३२ सेन्टिमिटरको पुरानो रेकर्डलाई इतिहास बनाउँदै ७ मिटर ५८ सेन्टिमिटरको नयाँ कीर्तिमान दर्ता गराए।
नेपाल एथलेटिक्स संघको आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहजीकरणमा सम्पन्न यस च्याम्पियनसिपमा पुरुष र महिलातर्फ १४-१४ गरी कुल २८ वटा विधा (इभेन्ट) हरूमा कडा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा देशका ७ वटा प्रदेश र ३ वटा विभागीय टोली (आर्मी, पुलिस र एपीएफ) गरी कुल १० वटा टिमका २४० जना उत्कृष्ट खेलाडीहरूले २८ वटा स्वर्ण पदकका लागि आफ्नो कडा मिहिनेत र खेल कौशल प्रदर्शन गरेका थिए। प्रतियोगिताका विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ। कर्णालीको भूमिमा चार-चार वटा नयाँ राष्ट्रिय कीर्तिमानहरू बन्नुले यहाँको खेल पूर्वाधार र खेलकुद विकासमा नयाँ आयाम थपेको खेल विश्लेषकहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्