२०८३ साउन १० , आइतबार
स्थानीय खबर

पञ्चपुरीमा पौडी खेल्ने क्रममा डुबेर युवाको मृत्यु



सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दहतालमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर एक १८ वर्षीय युवकको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको गुँरास गाउँपालिका स्थायी घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित एक ग्रिल उद्योगमा कार्यरत रमेश पुन मगर रहेका छन्। शनिबार वीरेन्द्रनगरबाट रमेशसहित ८ जनाको टोली विदाको दिन घुम्न र रमाइलो गर्न पञ्चपुरी नगरपालिका–८ मा पर्ने चर्चित दहताल पुगेका थिए। गर्मी छल्न र रमाइलो गर्ने बहानामा दहताल पुगेका उनीहरू पानीमा पसेर पौडी खेल्न थालेका थिए।

तर, पौडी खेल्ने क्रममा अचानक रमेश पानीको गहिराइमा डुबेर तालभित्रै बेपत्ता भएका थिए। घटना लगत्तै अन्य साथीहरूले गुहार मागेपछि स्थानीय र प्रहरीको सक्रियतामा टोलीमा रहेका अन्य ७ जना साथीहरूलाई भने सकुशल उद्धार गर्न सफल भइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। तालमा मानिस बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौर, जिल्ला प्रहरी कार्यालय सुर्खेत र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गुटुबाट छुट्टाछुट्टै सुरक्षा टोलीहरू घटनास्थलतर्फ प्रस्थान गरेका थिए। सुरक्षा निकायहरूको संयुक्त टोलीले तालमा सघन खोजतलास सञ्चालन गरेपछि अन्ततः बेपत्ता भएका रमेशलाई मृत अवस्थामा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार मृतक रमेशको शवलाई पानीबाट निकालेर कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि सालकोट अस्पतालमा राखिएको छ। पछिल्लो समय सुर्खेतका विभिन्न खोलानाला तथा तालहरूमा पौडी खेल्ने क्रममा युवाहरूले ज्यान गुमाउने क्रम बढेकाले गहिरो पानीमा जथाभाबी नजायन प्रहरीले सबैमा अपिल गरेको छ। यस दुःखद घटना कसरी र कुन परिस्थितिमा हुन पुग्यो भन्ने विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान अघि बढाएको डीएसपी बोहराले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३ असार ६ गते शनिबार