सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्राखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक २० वर्षीय युवकको अकालमै दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–११ सुब्बाकुना निवासी लालबहादुर ठाडा मगरका छोरा मनोज ठाडा मगर रहेका छन्। बुधबार राति करिब ९ बजेको समयमा झुप्राखोलामा पौडी खेल्न गएका मनोज अचानक पानीको गहिराइमा डुबेर अचेत भएका थिए। घटनाको जानकारी पाउनेबित्तिकै उनका बुवाले उद्धार गरी गम्भीर अवस्थामा रहेका मनोजलाई राति ११:४५ बजे तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएका थिए। तर, अस्पताल पुर्याएलगत्तै त्यहाँ कार्यरत चिकित्सकहरूले उनलाई मृत घोषणा गरिदिएका थिए।
अस्पतालमा डिउटीमा खटिएका प्रहरी हवल्दार कृष्ण थापाले युवकको मृत्यु भएको विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई तत्कालै आधिकारिक जानकारी गराएका थिए। घटनाको सूचना प्राप्त भएलगत्तै जिल्लाको निर्देशनमा प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी सहायक निरीक्षक अनिलकुमार शाहीको कमाण्डमा एउटा प्रहरी टोली घटनास्थल र अस्पतालमा परिचालन गरिएको छ। गर्मी मौसम सुरु भएसँगै खोलानालामा पौडी खेल्न जाँदा आवश्यक सतर्कता नअपनाउँदा यस्ता दुःखद घटनाहरू दोहोरिने गरेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृतक युवकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ भने घटना कसरी र कुन परिस्थितिमा भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्