२०८३ साउन १० , आइतबार
काँक्रेविहार राष्ट्रिय हाफ म्याराथनको तयारी पूरा

 असार ८ गते तीन हजार खेलाडीले दौडिने



सुर्खेत । ‘दौडिन्छ कर्णाली’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुन लागेको तेस्रो संस्करणको काँक्रेबिहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद् र एक्सट्रीम इनर्जी ड्रिङ्कको आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको संयोजनमा आगामी असार ८ गते यो भव्य प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार एक कार्यक्रमका बीच धावकहरूले लगाउने आधिकारिक टिसर्ट समेत सार्वजनिक गरिएको छ। आयोजकका अनुसार यस वर्षको म्याराथनमा देशभरका करिब तीन हजारभन्दा बढी व्यावसायिक तथा एमेच्योर खेलाडीहरूको उत्साहजनक सहभागिता रहने अनुमान गरिएको छ।

यस पटकको प्रतियोगितामा विभिन्न उमेर समूहलाई समेट्ने गरी तीन वटा छुट्टाछुट्टै इभेन्टमा कडा प्रतिस्पर्धा गराइने छ। जसमा पुरुषतर्फ २१ किलोमिटरको मुख्य हाफ म्याराथन, महिलातर्फ १० किलोमिटरको दौड र स्कुले विद्यार्थीहरूको प्रतिभा प्रष्फुटनका लागि ५ किलोमिटरको दौड विधा समावेश गरिएको छ। करिब ६० जना दक्ष खेल प्राविधिकहरूको प्रत्यक्ष रेखदेख र सहयोगमा सञ्चालन हुने यो दौड वीरेन्द्रचोकबाट सुरु भई मङ्गलगढी चोक, पिपिरा र सुब्बाकुना पुगेर पुनः सोही मार्ग हुँदै वीरेन्द्रचोकमा आएर समापन हुनेछ। प्रतियोगितालाई थप प्रगतिको दिशामा लैजान पुरस्कार राशि पनि आकर्षक राखिएको छ, जसअनुसार २१ किलोमिटर हाफ म्याराथनतर्फ प्रथम हुनेले १ लाख ५० हजार र दोस्रो हुनेले ७५ हजार रुपैयाँ पाउने छन् भने १० किलोमिटरतर्फ प्रथमले ७५ हजार र दोस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी ५ किलोमिटरको विद्यार्थी दौडतर्फ पहिलो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

मिड वेस्टर्न फिटनेस सेन्टरका प्रबन्ध निर्देशक प्रमोद हमालले कर्णाली प्रदेशमा ‘दौड संस्कृति’ (रनिङ कल्चर) को जग बसाल्न र विकास गर्न यो प्रतियोगिता निरन्तर सञ्चालन हुँदै आएको बताए। खेलकुदका माध्यमबाट नागरिकको स्वास्थ्य, स्थानीय पर्यटन प्रवर्द्धन र युवा सहभागिता बढाउनु नै यसको मुख्य पाटो रहेको उनको भनाइ छ। कर्णालीमा खेलकुदको विकास र नयाँ खेलाडीहरूको प्रतिभा पहिचानका लागि यस्ता प्रतियोगिताहरूले कोशेढुङ्गाको काम गर्ने उल्लेख गर्दै हमालले खेलकुदलाई पर्यटनसँग जोडेर कर्णालीको प्राकृतिक सौन्दर्य र ऐतिहासिक काँक्रेविहार जस्ता सम्पदाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु नै आफूहरूको मुख्य ध्येय रहेको प्रष्ट पारे। अन्तर्राष्ट्रिय ओलम्पिक ‘डे’ लाई समेत ध्यानमा राखेर आयोजना हुन लागेको यो प्रतियोगिताले यस वर्ष पनि खेलाडीहरूमा नयाँ उत्साह भर्ने र कर्णालीबाट देशभर खेलकुदको सकारात्मक सन्देश फैलाउने विश्वास आयोजकले लिएको छ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार