२०८३ साउन १० , आइतबार
सुर्खेतमा औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप

१० किलोमिटर दौडमा राजन र सन्तोषी प्रथम



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ४६ औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता आजदेखि भव्य रूपमा सुरु भएको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले एक विशेष समारोहका बीच यस प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन मन्तव्य राख्दै मन्त्री शाहले यस्ता राष्ट्रिय स्तरका च्याम्पियनसिपहरू प्रदेशमा आयोजना हुँदा कर्णालीको समग्र खेलकुद विकासमा टेवा पुग्ने र कुना-कन्दरामा लुकेर रहेका प्रतिभावान खेलाडीहरूको पहिचान एवं प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल एथलेटिक्स संघको आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को व्यवस्थापकीय सहयोगमा सञ्चालन भइरहेको यो प्रतियोगिता आगामी तीन दिनसम्म चल्नेछ। प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ १४-१४ गरी कुल २८ वटा विभिन्न विधा (इभेन्ट) मा कडा प्रतिस्पर्धा भइरहेको छ। यस राष्ट्रिय खेलकुद महाकुम्भमा देशका ७ वटा प्रदेश र ३ वटा विभागीय टोली गरी कुल १० वटा टिमका २४० जना खेलाडीहरू मैदानमा उत्रिएका छन्, जसमा १२० महिला र १२० पुरुष धावकहरू रहेका छन्। उनीहरूले कुल २८ वटा स्वर्ण पदकका लागि आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गर्नेछन्।

प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र आयोजक कर्णाली प्रदेशका टोलीसँगै विभागीयतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लबले कडा प्रतिस्पर्धा गरिरहेका छन्। आयोजकका अनुसार यस च्याम्पियनसिपलाई भव्य र व्यवस्थित बनाउन २४० खेलाडीसहित १० जना प्रशिक्षक, १० जना व्यवस्थापक र ६० जना प्राविधिक गरी कुल ३२० जना खेल अधिकारीहरूको प्रत्यक्ष सहभागिता रहेको छ। यस प्रतियोगिताका प्रत्येक इभेन्टमा प्रथम हुने खेलाडीले नगद १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय स्थान हासिल गर्ने खेलाडीले ५ हजार रुपैयाँसहित आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैबीच, प्रतियोगिताको पहिलो दिन आज बिहान सम्पन्न भएको १० किलोमिटरको मुख्य दौड प्रतियोगितामा विभागीय टोली र बागमती प्रदेशले सानदार सुरुवात गरेका छन्। पुरुषतर्फको १० किलोमिटर दौडमा नेपाल आर्मीका धावक राजन रोकायले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् भने महिलातर्फको सोही दूरीको दौडमा बागमती प्रदेशकी चर्चित अन्तर्राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठले आफ्नो वर्चस्व कायम राख्दै स्वर्ण पदक चुमेकी छिन्। पहिलो दिनकै प्रतिस्पर्धामा देखिएको खेलाडीहरूको उच्च मनोबल र कडा प्रतिस्पर्धाले आगामी दुई दिन खेलप्रेमीहरूका लागि निकै रोमान्चक हुने सङ्केत गरेको छ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार