कालीकोट । अविरल वर्षाका कारण कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका क्षेत्रमा निर्माणाधीन सडक आयोजनामा ठूलो क्षति पुगेको वडा अध्यक्ष पौरामे विश्वकर्माले जानकारी दिनुभएको छ। स्थानीय पूर्वाधार कार्यालय सुर्खेतबाट ठेक्का सञ्चालन भइरहेको सिमखेती–लमारिता–धन्नुकोट हुँदै वडा कार्यालयसम्मको सडक स्तरोन्नति आयोजनामा वर्षाले निर्माण सामग्री तथा उपकरणमा क्षति पुर्याएको हो।

आयोजनाको ठेक्का डीबीसी कन्स्ट्रक्सन प्रालि, नेपालगञ्ज ले आर्थिक वर्ष २०८२/०८३ मा सम्झौता गरी निर्माण कार्य गरिरहेको थियो। अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण आयोजनास्थलमा राखिएका मेसिनरी सामग्री, ३२० बोरा सिमेन्ट, ४० थान वाटरप्रुफ प्लाई, ३ ड्रम डिजेल लगायत अन्य निर्माण सामग्रीमा क्षति पुगेको जनाइएको छ।
यसका साथै सडक सुरक्षाका लागि जडान गरिएका जाली तथा निर्माणका लागि तयार पारिएका विभिन्न संरचनासमेत बगाएर नष्ट भएको प्रतिनिधि हंशबहादुर शाही ले जानकारी दिनुभयो।
प्रारम्भिक विवरणअनुसार उक्त घटनाबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। क्षतिको यथार्थ विवरण संकलन तथा मूल्याङ्कन कार्य सम्बन्धित निकायबाट भइरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्