२०८३ साउन ११ , सोमबार
प्राविधिक प्रशिक्षक विशेष तालिम

‘उत्पादन प्रशिक्षार्थी’ कार्यक्रम ल्याउन मन्त्री भण्डारीको जोड



सुर्खेत । कर्णाली प्रदेशमा प्राविधिक शिक्षाको गुणस्तर सुधार र जनशक्तिको क्षमता विकासका लागि प्राविधिक शिक्षालय तथा विद्यालयका प्रशिक्षकहरूलाई लक्षित गरी प्रशिक्षण सीप तालिम सुरु गरिएको छ। प्राविधिक शिक्षाको खस्कँदो गुणस्तर सुधार्न प्रदेश सरकार र सम्बद्ध निकायहरू तदारुकताका साथ लागिरहेका बेला असार १० गतेसम्म सञ्चालन हुने गरी यो विशेष तालिमको आयोजना गरिएको हो। चालू आर्थिक वर्षभित्रै सञ्चालन गरिएको यस किसिमको तालिमको यो चौँथो ब्याच हो, जसले प्रदेशभरिका प्राविधिक प्रशिक्षकहरूको शिक्षण शैली र प्राविधिक सीपलाई अझ परिष्कृत बनाउने लक्ष्य राखेको छ।

​तालिमको औपचारिक उद्घाटन सत्रलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले घरेलु बजारमै रोजगारीका अवसरहरू सिर्जना गर्न र बजारको माग अनुसार पर्याप्त जनशक्ति उत्पादन गर्न यस्ता तालिमहरू कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। पछिल्लो समय प्राविधिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको चासो घट्दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री भण्डारीले अब पुराना ढर्रा त्यागेर नयाँ सोच र योजनाबद्ध रूपमा सबै सरोकारवालाहरू सक्रिय हुनुपर्नेमा जोड दिए। कर्णालीको विशिष्ट भूगोल र आवश्यकतालाई मध्यनजर गर्दै उनले यहाँ औद्योगिक प्रशिक्षार्थी भन्दा पनि स्थानीय उत्पादन वृद्धि गर्ने खालका ‘उत्पादन प्रशिक्षार्थी’ जस्ता नवप्रवर्तनात्मक कार्यक्रमहरू सञ्चालन गर्न अपरिहार्य भइसकेको बताए।

​मन्त्री भण्डारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का आङ्गीक शिक्षालयहरूमा प्रदेश सरकारले आफ्नो लगानी निरन्तर बढाइरहेको जानकारी दिँदै सरकारी लगानी अनुसारको नतिजा आउनुपर्ने स्पष्ट पारे। प्रशिक्षकहरूको सीप जति अब्बल भयो, उनीहरूबाट उत्पादित जनशक्ति पनि उति नै बजार सुहाउँदो र प्रतिस्पर्धी हुने भएकाले यो तालिमले कर्णालीको प्राविधिक शिक्षाको क्षेत्रमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार