सुर्खेत। प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका २१ वर्षीय साकिर बक्सको शङ्कास्पद मृत्यु भएपछि घटनालाई लिएर निष्पक्ष र पारदर्शी छानबिनको माग तीव्र बनेको छ। वीरेन्द्रनगर–१० पिपिरा निवासी बक्सलाई चोरीको आशंकामा नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको अवस्थामा उनको मृत्यु भएको हो। बक्सको मृत्युको खबर सार्वजनिक भएलगत्तै आक्रोशित बनेका मृतकका आफन्त तथा स्थानीयवासीहरूले हिरासतभित्रै उनको हत्या गरिएको हुनसक्ने गम्भीर प्रश्न उठाउँदै सत्यतथ्य तत्काल सार्वजनिक गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।
मृतकका आफन्तहरूले बक्सको शव हेर्दा छाती, मुखभित्र र खुट्टालगायत शरीरका विभिन्न भागमा निलडाम र चोटपटकका स्पष्ट चिन्हहरू देखिएको दाबी गरेका छन्। उनीहरूले प्रहरीले बक्समाथि चोरीको आरोप लगाए पनि सो घटनासँग सम्बन्धित कुनै पनि सामान बरामद नभएको अवस्थामा नियन्त्रणमा लिएर कुटपिट गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। आफन्त, स्थानीयवासी तथा विभिन्न सरोकारवालाहरूले राज्यको पूर्ण सुरक्षामा रहने हिरासत जस्तो संवेदनशील स्थानमा रहेका व्यक्तिको मृत्यु कसरी र कुन परिस्थितिमा भयो भन्ने विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने अडान राखेका छन्। उनीहरूले अनुसन्धानका क्रममा दोषी देखिएका जोकोहीलाई पनि तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेका हुन्।

स्थानीयवासीहरूले बक्सको मृत्युको विषयलाई लुकाउन खोजिए वा छानबिन प्रक्रिया निष्पक्ष र पारदर्शी नभए आफूहरू चरणबद्ध रूपमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत प्रहरी प्रशासनलाई दिएका छन्। यता, घटनालाई लिएर सुर्खेत प्रहरी तथा सम्बन्धित निकायको आधिकारिक धारणा भने हालसम्म सार्वजनिक भइसकेको छैन। प्रहरी स्रोतका अनुसार मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र आन्तरिक अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ। आफन्तहरूले दाबी गरे झैँ शरीरमा देखिएका चोटपटक र मृत्युको आधिकारिक पुष्टि पोस्टमार्टमको अन्तिम रिपोर्ट आएपछि मात्र हुने भन्दै प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्