२०८३ असोज ३ , शनिबार
कर्णालीमा पूर्वाधार र वित्तीय पहुँच बिस्तार

श्रम स्वीकृति लिनेको सङ्ख्या १४ हजार नाघ्यो



 सुर्खेत। कर्णाली प्रदेशको समग्र आर्थिक तथा विकास परिदृश्यको पछिल्लो अध्ययनले पर्यटन क्षेत्रमा केही मन्दी देखाए पनि वित्तीय पहुँच र राष्ट्रिय गौरवका पूर्वाधार निर्माणमा भने सकारात्मक प्रगति भइरहेको संकेत गरेको छ। अध्ययन अनुसार यस अवधिमा कर्णालीमा भित्रिने समग्र पर्यटकको सङ्ख्यामा ५०.०७ प्रतिशतको ठूलो गिरावट आएको छ। विशेष गरी छिमेकी मुलुक भारतबाट आउने पर्यटकमा ५०.८६ प्रतिशत, चीनबाट आउनेमा ७०.८२ प्रतिशत र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको सङ्ख्यामा ३२.४६ प्रतिशतले कमी आएको तथ्याङ्कले देखाउँछ। पर्यटक आगमन घटे पनि प्रदेशको सेवा क्षेत्रमा भने वित्तीय लगानी बढेको छ। चालु अवधिमा सेवा क्षेत्रको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ९.०८ प्रतिशतले वृद्धि भएको छ। हाल कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् ८५.४८ प्रतिशत कर्जा सेवा क्षेत्रमै लगानी भएको छ भने बाँकी हिस्सा औद्योगिक कर्जाले ओगटेको छ।

​प्रदेशमा वित्तीय क्षेत्रको सञ्जाल बिस्तार पनि आक्रामक रूपमा अघि बढिरहेको छ। वि.सं. २०८२ पुस मसान्तको तथ्याङ्क अनुसार कर्णालीमा बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा सङ्ख्या ४ सय ८० पुगेको छ भने यहाँको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६८ प्रतिशत कायम रहेको छ। वित्तीय पहुँच गाउँ-गाउँसम्म पुग्दै गर्दा प्रदेशका ठूला र रणनीतिक महत्वका पूर्वाधार आयोजनाहरूले पनि गति लिइरहेका छन्। कर्णालीको भविष्यसँग जोडिएका निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यले पछिल्लो समय उत्साहजनक रूपमा गति लिइरहेको अध्ययनले देखाएको छ।

​यसैबीच, कर्णालीमा रोजगारीको आन्तरिक अवसर पर्याप्त नहुँदा वैदेशिक रोजगारीमा जाने युवाहरूको सङ्ख्या पनि उल्लेख्य रहेको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा मात्रै कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १४ हजार ६६ पुगेको अध्ययनले औँल्याएको छ। यो तथ्याङ्कले कर्णालीको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा बलियो बन्दै गएको देखाए पनि दक्ष र सक्षम जनशक्ति बाहिरिँदा प्रादेशिक विकासमा आन्तरिक चुनौती समेत थपिएको विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति : २०८३ जेठ ३० गते शनिबार