२०८३ जेठ ३० , शनिबार
रानीसैन सीमा विवाद

बाजुरावासीले गरेर सडक बन्द, हुम्ली आन्दोलित



हुम्ला र बाजुराको सीमा क्षेत्रमा पर्ने रानीसैनको विवादलाई लिएर बाजुराबासीले कर्णाली करिडोर अन्तर्गतको धुलाचौर सडक खण्ड ठप्प पारेपछि हुम्लामा पनि त्यसको प्रतिवादमा आन्दोलन सुरु भएको छ। बाजुरामा गरिएको सडक अवरोधका कारण सयौँ हुम्ली नागरिकहरू बाजुराको धुलाचौरमा विगत केही दिनदेखि भोकभोकै अलपत्र परेको भन्दै आक्रोशित हुम्लाबासीले शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय हुम्ला अगाडि पुगेर चर्को प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा हुम्लाबासीले बाजुराका नागरिकहरूबाट हुम्लीहरूमाथि ज्यादती भइरहेको दाबी गर्दै बाजुरामा अवरुद्ध पारिएको सडक तत्काल नखुलाइए आन्दोलनलाई अझै सशक्त र देशव्यापी बनाउने चेतावनी दिएका छन्।

यसै आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले शुक्रबार हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीमार्फत गृह मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। ध्यानाकर्षण पत्रमा अलपत्र परेका नागरिकहरूको तत्काल उद्धार गर्न र दुई जिल्लाबीचको विवादलाई केन्द्र सरकारले बेलैमा समाधान गर्न माग गरिएको छ। हुम्ला र बाजुराको सीमा क्षेत्रमा पर्ने रानीसैनमा रहेको प्रादेशिक तथा स्थानीय सीमा विवादलाई लिएर पछिल्लो एक महिनायता दुवै पक्षबीच लगातार तनाव चलिरहेको छ। यही विवाद तन्किँदै जाँदा गत जेठ ३ गते बाजुराको लाम्पाटामा दुई समुदायबीच हिंस्रक झडप समेत भएको थियो, जसमा बाजुराका केही स्थानीय व्यक्तिहरू घाइते भएका थिए।

लाम्पाटामा भएको सोही पुरानो घटना र घाइतेहरूको विषयलाई लिएर बाजुराबासीले गत बुधबारदेखि कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध पारेका हुन्। कर्णाली करिडोर हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य लाइफलाइन भएकाले यो मार्ग बन्द हुँदा हुम्लामा उपभोग्य सामग्रीको अभाव हुन थालेको छ भने रैथाने यात्रुहरू अलपत्र परेका छन्। लामो समयदेखि स्थानीय स्तरमा सुल्झाउन नसकिएको रानीसैन विवादले अहिले दुई जिल्लाका नागरिकबीच साम्प्रदायिक र क्षेत्रीय रूप लिन थालेपछि स्थानीय प्रशासनले गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम राख्न थप सतर्कता अपनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ २९ गते शुक्रबार