सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा श्रीधर केसी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। बुधबार वीरेन्द्रनगरमा सम्पन्न संघको पाँचौँ चुनावी साधारण सभाले केसीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा रुद्रबहादुर भण्डारी, सचिवमा प्रकाश भुषाल र कोषाध्यक्षमा विदुर कटुवाल चयन भएका छन्। यसैगरी कार्यसमितिको सदस्यहरूमा नरेशसिंह थापा, नगेन्द्र उपाध्याय, रमेश शाही, रोशन शाही, सम्राट राई, जनकविक्रम शाही र विश्व भारती चुनिएका छन्। नयाँ नेतृत्व आएसँगै सुर्खेतको क्रिकेट विकासले थप गति लिने अपेक्षा गरिएको छ।

साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दले प्रदेश राजधानी वीरेन्द्रनगरभित्रै एउटा आधुनिक क्रिकेट मैदान निर्माणका लागि बजेटको व्यवस्था गरिएको महत्त्वपूर्ण घोषणा गरे। आफू स्वयं पनि क्रिकेट खेलकै पृष्ठभूमिबाट आएर अहिलेको पदमा पुगेको स्मरण गर्दै सदस्य-सचिव चन्दले क्रिकेट रङ्गशाला निर्माणका लागि उपयुक्त जग्गा र स्थान छनोटको काम तीव्रताका साथ भइरहेको जानकारी दिए। हाल सुर्खेतमा सञ्चालनमा रहेका खेल मैदानहरू अस्थायी प्रकृतिका भएकाले कर्णालीकै सान बन्ने गरी स्थायी रङ्गशाला बनाउन प्रदेश सरकार लागिपरेको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले क्रिकेटका ठूला पूर्वाधार निर्माणका लागि सरकारी सहयोग अपरिहार्य रहेको औँल्याए। पछिल्लो समय नेपाली क्रिकेटप्रति युवा पुस्ताको आकर्षण अभूतपूर्व रूपमा बढेको तर सोही अनुपातमा भौतिक संरचना नभएको भन्दै खड्काले खेलाडी उत्पादन र भएका संरचनाको संरक्षण गर्न आफूहरू तयार रहे पनि ठूला रङ्गशाला बनाउन भने सरकारले नै अग्रसरता लिनुपर्नेमा जोड दिए। त्यस्तै, क्यानका केन्द्रीय प्रतिनिधि विक्रम विष्टले पूर्वाधार अभावका बीच पनि कर्णालीबाट उत्कृष्ट क्रिकेट प्रतिभाहरू प्रष्फुटन भइरहेको चर्चा गर्दै प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा फुटबल रङ्गशाला बनाएजस्तै क्रिकेटका लागि पनि छुट्टै अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्नुपर्ने माग गरे।
वार्षिक साधारण सभाकै अवसर पारेर एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा सम्पन्न भएको अण्डर–१६ इष्टजोन कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुर्खेत र देशकै नाम उच्च राख्न सफल दुई जना प्रतिभावान खेलाडीहरूलाई बिशेष सम्मान गरिएको थियो। संघले सुर्खेतबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने युवा खेलाडीद्वय विपिनप्रसाद शर्मा र रोशन शाहीलाई उनीहरूको योगदानको कदर गर्दै नगद तथा सम्मान पत्रसहित सम्मानित गरेको हो। नयाँ कार्यसमितिको चयन र रङ्गशाला निर्माणको सरकारी प्रतिबद्धताले सुर्खेतका क्रिकेट खेलाडी र खेलप्रेमीहरूमा नयाँ उत्साह थपेको छ।
प्रतिक्रिया दिनुहोस्