सुर्खेत । सबैका लागि शिक्षाको सुनिश्चिततामा नागरिक समाजको भूमिकालाई तीव्र बनाउने उद्देश्यका साथ सञ्चालित ‘एक्सेस’ परियोजनामार्फत कर्णालीको जाजरकोट र सल्यानमा शिक्षा क्षेत्रमा कार्यरत नागरिक समाज संस्थाहरूको क्षमता विकासका लागि विशेष तालिम प्रदान गरिएको छ। नेपालको कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा शिक्षा क्षेत्रमा पहुँच, समावेशीता र गुणस्तर अभिवृद्धि गर्न युरोपियन युनियनको सहयोगमा यो परियोजना सञ्चालनमा रहेको हो। पीपुल इन निडको नेतृत्वमा एकाउन्टेबिलिटी ल्याब, नेपाल अपाङ्ग महिला संघ र शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा संयुक्त रूपमा सञ्चालित यस परियोजनाअन्तर्गत जाजरकोटका पाँच र सल्यानका चार गरी नौ वटा संस्थाका पदाधिकारी तथा कर्मचारीहरूका लागि सुर्खेतको वीरेन्द्रनगरमा दुई दिने भौतिक क्षमता विकास तालिम सम्पन्न गरिएको छ। एकाउन्टेबिलिटी ल्याबका कार्यक्रम प्रबन्धक शुभेच्छा चापागाईंका अनुसार यसअघि यी संस्थाहरूलाई १४ वटा अनलाइन तालिम समेत प्रदान गरिसकिएको थियो। साझेदार नागरिक समाज संस्थाहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई स्थानीय तह तथा विद्यालय स्तरमा समतामूलक र समावेशी शिक्षा नीति, अभ्यास तथा प्रणालीहरूको प्रभावकारी वकालत, प्रवर्द्धन र कार्यान्वयनमा योगदान गर्न सक्षम बनाउने लक्ष्यका साथ यो तालिम आयोजना गरिएको हो।

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाका प्रमुख सुवर्ण कुमार खड्काले शिक्षा क्षेत्र सरकारको उच्च प्राथमिकताको विषय भएकोले एक्सेस परियोजनासँग कर्णाली सरकारले आवश्यक सहकार्य र समन्वय गरिरहेको बताए। जहाँ सरकार पुग्न सक्दैन त्यहाँ विकास साझेदार निकायहरू पुग्छन् भन्ने मान्यता अनुसार कार्य भइरहेको उल्लेख गर्दै खड्काले यो तालिमपछि सहभागी संस्थाहरू अब आफैँ प्रस्तावना तयार पारेर काम गर्न सक्ने अवस्थामा पुगेको विश्वास व्यक्त गरे। यस्तै, पीपुल इन निडका प्रबन्धक अनुरोध शाहले स्थानीय सरकार र नागरिक समाज संस्थाहरूको प्राविधिक तथा संस्थागत क्षमता सुदृढीकरण गरेर सबैलाई शिक्षाको पहुँचमा ल्याउन एक्सेसले कार्य गरिरहेको जानकारी दिए। विशेषगरी सीमान्तकृत तथा वञ्चित बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य बहिष्कृत समुदायहरूलाई सुरक्षित र समावेशी वातावरणमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यो परियोजना प्रतिबद्ध रहेको शाहको भनाइ थियो। उनले यसै परियोजनाअन्तर्गत नागरिक समाज संस्थाको संगठनात्मक क्षमता विकास गरी समावेशी शिक्षा कार्यविधि कार्यान्वयन गरिने र नागरिकको सहभागितामा पारदर्शिता एवं जवाफदेहिता प्रवर्द्धन गरिने समेत स्पष्ट पारे।
तालिम निकै फलदायी र समयसान्दर्भिक रहेको सहभागीहरूले बताएका छन्। पहाडी क्षेत्र विकास अभियान जाजरकोटका मेमा शाहले तालिमका विभिन्न विषयवस्तुमार्फत समावेशी शिक्षामा काम गरिरहेका संस्थाहरूबीच अनुभव, सिकाइ र असल अभ्यासहरू आदानप्रदान गर्ने महत्वपूर्ण अवसर मिलेको बताए। त्यस्तै, सल्यानको कल्याणकारी अपाङ्ग संघका अध्यक्ष कृष्ण बहादुर बुढाले अनलाइन र भौतिक रूपमा लिइएका तालिमहरू पश्चात् समावेशी शिक्षाका सवालमा स्थानीय सरकार, विद्यालय तथा सरोकारवालासँग प्रभावकारी पैरवी र सहकार्यका अवसरहरू पहिचान गर्न सक्ने गरी क्षमता विकास भएको उल्लेख गरे। उनले अबका दिनमा चुनौती र अवसरहरूको साझा विश्लेषण गरी समाधानका उपाय खोज्न र कार्ययोजना निर्माण गर्न आफूहरू सक्षम भएको दाबी गरे।
दुई दिने उक्त तालिममा नागरिक समाज संस्थाका लागि आवश्यक नीति तथा रणनीति, समावेशी शिक्षाको विधि र अवधारणा, बजेट र स्रोत परिचालन, संस्थाले तयार पार्ने प्रस्तावना, प्रतिवेदन र कार्ययोजनाका साथै विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा नागरिक समाजको भूमिका र परियोजनाले प्रदान गर्ने अनुदान रकम लगायतका विविध प्राविधिक विषयमा सघन सहजीकरण गरिएको थियो। तालिमको सहजीकरण पीपुल इन निडका अनुरोध शाह, नितिन नरेन सिंह, कर्णाली प्रदेश संयोजक मञ्जु लोहनी, एकाउन्टेबिलिटी ल्याबका परियोजना प्रबन्धक शुभेच्छा चापागाई, स्वस्तिका बस्नेत र नेपाल अपाङ्ग महिला संघका गंगा देवकोटा लगायतले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्