२०८३ जेठ ३० , शनिबार
कर्णालीमा रास्वपाको जिल्ला अधिवेशन

कतै चुनाव, कतै सर्वसम्मत



गत फागुनको प्रतिनिधि सभा निर्वाचनताका कर्णालीका गाउँ र वडासम्म पुग्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिले प्रदेशभर आफ्नो सांठनिक पकडलाई निकै आक्रामक रूपमा फैलाएको छ ।
निर्वाचनका बेला अन्य प्रदेशको तुलनामा कर्णालीमा केही कमजोर देखिए पनि प्रत्यक्षतर्फ एक सिट जित्दै समानुपातिकमा दोस्रो शक्ति बनेको रास्वपाले केन्द्रमा देशको बागडोर सम्हालेसँगै सङ्गठन विस्तारलाई तीव्र पारेको हो ।
हाल डोल्पाबाहेक कर्णालीका सबैजसो जिल्ला, पालिका र वडा तहसम्म कमिटीहरू गठन भइसकेका छन् भने सोमबार अपराह्नसम्म अधिकांश जिल्लाका प्रथम अधिवेशनहरू समेत सम्पन्न भइसकेका छन् ।

सपथ लि‌दै राष्टिय स्वतन्त्र पार्टी सुर्खेत जिल्ला समितिका नवनिवर्वाचित पदाधिकारीहरु ।

रास्वपा कर्णालीका नेता हरिप्रसाद अधिकारीका अनुसार दैलेख र रुकुम पश्चिममा तीव्र प्रतिस्पर्धाबीच चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ भने अन्य जिल्लाहरूमा केही आन्तरिक विवाद र असमझदारीका बीच अन्ततः सर्वसम्मत रूपमै नयाँ कार्यसमिति छानिएको छ । पार्टीको बलियो आधार क्षेत्र मानिएको सुर्खेतमा चार जना आकाङ्क्षी रहे पनि आइतबार निवर्तमान सभापति रमेशकुमार सापकोटा नै सर्वसम्मत रूपमा पुनः सभापति चयन भएका छन् ।
गत फागुनको निर्वाचनमा सुर्खेत–२ बाट निर्वाचित सापकोटा कर्णाली प्रदेशबाट रास्वपाका एक मात्र प्रत्यक्ष निर्वाचित सांसद हुन्, जो पुरानो कांग्रेस पृष्ठभूमि त्यागेर २०८० अघिदेखि नै सुर्खेतमा रास्वपालाई चलायमान बनाउन सक्रिय रहँदै आएका थिए ।
सुर्खेतमा सभापति र उपसभापति सर्वसम्मत छानिए पनि सचिव र सह–सचिव पदका लागि भने मतदान नै गराउनुपरेको
थियो । उता जाजरकोटमा भने नेतृत्वको हानथापले उग्र रूप लिँदा सोमबार बिहान आकाङ्क्षीका समर्थकहरूबीच हात हालाहालको स्थिति समेत सिर्जना भएको थियो ।
बाह्य घुसपैठका कारण उत्पन्न सो विवादलाई मत्थर पार्दै अन्तिममा निवर्तमान सभापति महेश सिंहलाई नै सर्वसम्मत रूपमा पुनः सभापति चयन गरियो, जहाँ उपसभापतिमा प्रकाशकुमार कार्की, सचिवमा कर्ण प्रसाद जैशी, सह–सचिवमा इन्द्रिजित शाही र कोषाध्यक्षमा प्रमोदजंग शाहसहित १५ सदस्यीय समिति बनेको छ । यसैगरी तीव्र चुनावी प्रतिस्पर्धा भएको रुकुम पश्चिममा द्रोण खड्का ४२ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी पुस्तक चन्दले ३० मत मात्र प्राप्त गरे ।
रुकुम पश्चिमको उपसभापतिमा रिम प्रसाद शर्मा, सचिवमा दीपेन्द्र राज विष्ट र सहसचिवमा प्रेम बाँठा मगर विजयी भएका छन् ।
यता दैलेखमा पनि चार जनाबीच भएको कडा भिडन्तमा ९२ मत ल्याउँदै बखतबहादुर भण्डारी सभापति निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धीहरू प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत पाएका थिए ।
सभापतिमा निर्वाचित भण्डारी २०७९ को निर्वाचनमा दैलेख–२ बाट रास्वपाको उम्मेदवार बनेका व्यक्ति हुन् भने दैलेखको उपसभापतिमा गणेश शाही, सचिवमा रमेश केसी र सहसचिवमा रामबहादुर शाही चुनिएका छन् ।
हिमाली जिल्ला हुम्लामा भने निवर्तमान उपसभापति रहेका लक्ष्मण ऐडीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ, जसको उपसभापतिमा रिन्जेन लामा र सचिवमा मनोज बोहरा रहेका छन् । कालिकोटमा प्रेमबहादुर केसी सर्वसम्मत रूपमा सभापति चुनिएका छन् भने त्यहाँ उपसभापतिमा दिनेशबहादुर शाही र सचिवमा भूपेन्द्रबहादुर शाही चयन भएका छन् ।
जुम्लामा पनि मक्करबहादुर भण्डारीको नेतृत्वमा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ, जहाँ केही समयअघि मात्रै कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका गुठीचौर गाउँपालिकाका चर्चित नेता दानबहादुर बुढा सह–सचिव बनेका छन् । उता सल्यानमा भने जिल्लामा रास्वपा विस्तारमा सुरुदेखि नै महत्त्वपूर्ण भूमिका खेलेका प्रकाश नेपालीलाई नै सर्वसम्मत रूपमा सभापतिमा दोहो¥याइएको छ, जहाँ उपसभापतिमा टिकाराम केसी र सचिवमा श्रीकान्त राई चयन भएका छन् ।
निर्वाचनमा प्राप्त जनमतलाई जग बनाएर गाउँ–गाउँसम्मै सङ्गठन फैलाएको रास्वपाको यो आन्तरिक अभ्यासले कर्णालीको परम्परागत राजनीतिक वृत्तमा नयाँ हलचल पैदा गरिदिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार