२०८३ जेठ ३० , शनिबार

पूर्ण खोप सुनिश्चित भयाे लेकवेशी

छुटेका बालबालिका खोज्न घरदैलो अभियान


सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिकालाई एक विशेष कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगरभित्र रहेका जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाहरूले पाउनुपर्ने सम्पूर्ण १३ वटा खोप पाएको सुनिश्चित भएपछि यो महत्त्वपूर्ण घोषणा गरिएको हो। सरकारको स्वास्थ्य नीति अनुसार जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न घातक रोगहरूबाट बचाउन १३ प्रकारका खोप लगाइसक्नु पर्ने कानुनी प्रावधान छ। सोही प्रावधानलाई आत्मसात गर्दै नगरपालिकाले नगरका सबै बालबालिकामाझ खोपको पहुँच पुर्‍याउन सफल भएको हो।

कुनै कारणवश समयमै खोप लगाउन छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत विशेष सक्रियताका साथ खोजी गरिएको थियो। यसरी पहिचान भएका सबै बालबालिकालाई खोपको मात्रा पूरा गराएर मात्र पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको जनस्वास्थ्य अधिकृत निरन्जन चन्दले बताए। यो अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीहरूको अथक सक्रियता र जनप्रतिनिधिहरूको कुशल अगुवाइ निकै महत्त्वपूर्ण साबित भएको चन्दको भनाइ छ। लेकबेशी नगरपालिकाका १० वटै वडाहरूमा व्यापक रूपमा खोप अभियान सञ्चालन गरेर हरेक बालबालिकाले खोप पाएको पूर्ण यकिन गरेपछि मात्र यो उपलब्धि हासिल भएको नगर प्रमुख उमेश पौडेलले स्पष्ट पारे।

नगरपालिकाले अभियानका क्रममा खोप लिनबाट छुटेका बालबालिकाहरू पत्ता लगाउन र उनीहरूको वास्तविक अवस्था बुझ्न महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरी व्यापक घरदैलो अभियान चलाएको नगर प्रमुख पौडेलले जानकारी दिए। स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष संलग्नतामा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्य संस्था व्यवस्थापन समिति, वडा खोप समन्वय समिति, आमा समूह, शिक्षक तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सामूहिक सहयोग र अनुगमनमा विस्तृत घरधुरी सर्वेक्षण गरिएको थियो। यसरी समाजका सबै सरोकारवालाहरू एकजुट भएर गरिएको अनुगमन र घरदैलो अभियानकै कारण लेकबेशी नगरभित्रका कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित नभएको सुनिश्चितता गर्दै यो ऐतिहासिक घोषणा सम्भव भएको हो।

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार