२०८३ जेठ २५ , सोमबार
रास्वपा सुर्खेतको प्रथम जिल्ला अधिवेशन

सभापतिमा सांसद रमेशकुमार सापकोटा सर्वसम्मत



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतको पहिलो जिल्ला अधिवेशनबाट प्रतिनिधि सभा सदस्य रमेशकुमार सापकोटा सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन भएका छन्। पार्टीले देशव्यापी रूपमा आफ्नो साङ्गठनिक ढाँचालाई संस्थागत र सुदृढ गर्ने अभियान चलाइरहेका बेला सुर्खेतमा सम्पन्न प्रथम ऐतिहासिक अधिवेशनले सापकोटालाई सर्वसम्मत नेतृत्व सुम्पिएको हो।

भारी मतान्तरले जितेका सांसद अब पार्टी कमान्डमा नवनिर्वाचित जिल्ला सभापति सापकोटा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लोकप्रिय सांसद हुन्। उनले गत २०८२ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धीलाई झन्डै १५ हजारको भारी मतान्तरले पराजित गर्दै संसद्मा आफ्नो स्थान सुरक्षित गरेका थिए। जनस्तरमा राम्रो प्रभाव जमाएका सापकोटालाई जिल्लाको कमान्ड सुम्पिएसँगै सुर्खेतमा रास्वपा थप बलियो हुने नेता-कार्यकर्ताहरूको विश्वास छ।

अधिवेशनबाट पार्टीको मुख्य नेतृत्व अर्थात् जिल्ला सभापतिको टुङ्गो सर्वसम्मत रूपमा लागिसके पनि कार्यसमितिका अन्य पदहरूको चयन प्रक्रिया भने अझै बाँकी रहेको छ। निर्वाचन समिति र पार्टी नेतृत्वबिच उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यसहितका बाँकी ओहोदाहरूका लागि आन्तरिक गृहकार्य र छलफल तीव्र पारिएको छ। ती पदहरूमा पनि चाँडै नै सर्वसम्मत रूपमा पदाधिकारी चयन गरी पूर्ण कार्यसमिति सार्वजनिक गरिने रास्वपा सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार