सुर्खेत । कर्णाली प्रदेशको सबैभन्दा ठूलो अस्पताल प्रदेश अस्पतालले ठूलो संख्यामा चिकित्सक र कर्मचारी अभावका बीच सेवा प्रवाह गर्दै आएको छ । आइतबार अस्पतालले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अस्पतालले दरबन्दी अभावका बीच सेवा प्रवाह गर्दै आएको जनाएको छ ।
अस्पताल निर्देशक डाक्टर गणेश थापाले ठूलो संख्यामा दरबन्दी अभाव हुँदा पनि सर्वसुलभ सेवा प्रवाह गरको बताउनु भयो । ‘विगतदेखि नै अस्पतालमा दरबन्दीका चिकित्सव छैनन तर पनि हामीले उत्कृष्ट सेवा प्रदान गर्ने प्रयास गर्दै आएका छौँ’ निर्देशक थापाले भन्नुभयो, ‘यही दरबन्दी अभावलाई टार्न प्रदेश सरकारले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने आयोजना बनाएको छ ।’ अस्पताल प्रतिष्ठानको रुपमा स्तरोन्नती हुँदा अहिले जस्तो दरबन्दी सिर्जना गर्न समस्या नहुने र प्रतिष्ठान हुँदा विशेषज्ञ चिकित्सकहरु अस्पतालमा व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ छ । ‘सरकारले बजेट व्यवस्थापन गर्न सकेको खण्डमा प्रतिष्ठानले चाहियजति चिकित्सकको दरबन्दी सिर्जना गरेर भर्ना लिन सक्छ’ उहाँले भन्नुभयो, ‘अस्पताललाई प्रतिष्ठान बनाउँदा विशेषज्ञ चिकित्सकको अभावको समस्या केही रुपमा भएपनि हल हुन्छ भन्ने आशा छ ।’

प्रदेश अस्पतालमा स्वीकृत दरबन्दीका झण्डै एकसय जना चिकित्सकसहितको जनशक्ति अभाव छ । प्रदेश अस्पतालमा एकसय ५० बेडको लागि ३ सय २५ जनाको स्वीकृत दरबन्दी हो । तर अहिले अस्पताल तीन सय शैयाको रुपमा सञ्चालनमा छ ।
अस्पतालको प्रशासन प्रमुख अनिता ज्ञवालीका अनुसार अस्पतालमा स्वीकृत ३ सय २५ दरबन्दी भएपनि हाल १ सय ९२ जनाको मात्रै पदपूर्ति भएको छ । बाँकी एकसय जनाको दरबन्दी रिक्त छ । यद्यपी अस्पतालमा हाल अस्थायी, अस्पताल व्यवस्थापन समिति र करार सेवामा गरेर कुल ५ सय ४० जना चिकित्सकसहितका जनशक्ति कार्यरत छन् । तीन सय बेडमा अस्पताल स्तरोन्नती भएपछि अस्थायी करारमा जनशक्ति व्यवस्थापन गरेर सेवा प्रवाह गर्नु परेको हो ।
अस्पतालमा रिक्त एक सय जनशक्तिमध्ये ११ औँ अर्थात विशेषज्ञ चिकित्सकको १३ वटा दरबन्दी रिक्त छ । त्यस्तै १० औँ तहका १६ जना, ८ औँ तहका ६ र ७ सातौ तहका ३ जना चिकित्कको दरबन्दी रिक्त रहेको प्रशासन प्रमुख ज्ञवालीले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्