सुर्खेत । कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा एचआईभी संक्रमणको दर क्रमशः घट्दो क्रममा देखिएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म प्रदेशभर थप ३१ जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। वीरेन्द्रनगरमा आयोजित राष्ट्रिय एड्स तथा रोग नियन्त्रणसम्बन्धी कार्यक्रममा निर्देशनालयले संक्रमणको ग्राफ ओरालो लागे पनि यसको नियन्त्रण, व्यवस्थापन र उपचारमा चुनौतीहरू भने अझै यथावत् रहेको औंल्याएको छ।
निर्देशनालयको तथ्याङ्क हेर्दा विगतका वर्षहरूमा संक्रमण दरमा निरन्तर गिरावट आएको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ मा ८० जनामा संक्रमण देखिएकोमा आर्थिक वर्ष २०७९/८० मा यो संख्या घटेर ५७ मा झरेको थियो। यसै गरी आर्थिक वर्ष २०८०/८१ मा ३८ र आर्थिक वर्ष २०८१/८२ मा ३९ जनामा संक्रमण पुष्टि भएको थियो, जसले कर्णालीमा संक्रमण नियन्त्रणका प्रयासहरू प्रभावकारी हुँदै गएको संकेत गर्दछ। तर, संक्रमण दर घटे पनि विगत चार वर्षको अवधिमा ३८ जना संक्रमितको मृत्यु भइसकेको दुःखद तथ्याङ्क पनि निर्देशनालयसँग छ।
हाल कर्णाली प्रदेशका विभिन्न एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) केन्द्रहरूमा ७ सय ७० जना एचआईभी संक्रमितहरूले नियमित रूपमा उपचार सेवा लिइरहेका छन्। निर्देशनालयका एचआईभी फोकल पर्सन पदमबहादुर केसीका अनुसार संक्रमितहरूको सहजताका लागि प्रदेश अस्पताल सुर्खेत, दैलेख अस्पताल, सल्यान अस्पताल, कालिकोट अस्पताल, रुकुम पश्चिम अस्पताल, राकम कर्णाली आधारभूत अस्पताल, सालकोट प्राथमिक स्वास्थ्य केन्द्र, मेहलकुना अस्पताल र दुल्लु अस्पतालबाट नियमित उपचार सेवा उपलब्ध गराउँदै आइएको छ। यी मध्ये प्रादेशिक राजधानीमा रहेको प्रदेश अस्पताल सुर्खेतमा मात्रै सबैन्दा बढी अर्थात् २ सय ९० जना संक्रमितहरू उपचाररत छन्।

संक्रमणको दायरा घटाउन र विशेष गरी गर्भवती आमाबाट शिशुमा एचआईभी सर्न नदिन निर्देशनालयले विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ। यसै कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा मात्रै ३३ हजार ७ सय ४० जना गर्भवती महिलाको एचआईभी परीक्षण गरिएको छ, जुन वार्षिक अपेक्षित लक्ष्यको करिब ७९ प्रतिशत हो। यसरी गरिएको परीक्षणका क्रममा दुई जना गर्भवती महिलामा संक्रमण पुष्टि भएको छ। फोकल पर्सन केसीले प्रदेशमा परीक्षणको दायरा र उपचार सेवामा नागरिकको पहुँच बढेको बताउँदै संक्रमित आमाबाट शिशुमा हुने जोखिम न्यूनीकरण गर्न समयमै परीक्षण, उपचार र उचित परामर्श सेवालाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो।
यसैबिच, एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) का कार्यक्रम संयोजक सञ्जयकुमार पौडेलले सन् २०१८ देखि प्रदेश अस्पताल सुर्खेतसँग सहकार्य गरी संक्रमितहरूको परामर्श, उपचारमा पहुँच वृद्धि, परीक्षण सेवाको विस्तार र स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा निरन्तर सहयोग पुर्याउँदै आएको जानकारी दिनुभयो। उहाँले एचआईभी नियन्त्रणको अभियानमा उल्लेख्य प्रगति भए पनि दुर्गम भूगोल र चेतनाको अभावका कारण विभिन्न व्यावहारिक चुनौतीहरू अझै बाँकी रहेको बताउनुभयो।
त्यस्तै, नवकिरण प्लस सुर्खेतका अध्यक्ष देवेन्द्र पाठकले दुर्गम जिल्लाहरूबाट उपचारका लागि सुर्खेत आउनुपर्ने संक्रमितहरूले ठुलो यातायात खर्च र आर्थिक समस्या झेल्नुपरिरहेको यथार्थता पोख्नुभयो। संक्रमितहरूको जीवनस्तर सुधार्नका लागि स्थानीय सरकारहरूले आयआर्जनका विशेष कार्यक्रम, पोषणयुक्त खानाको व्यवस्था र रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। अध्यक्ष पाठकले समाजमा एचआईभी संक्रमितप्रति अझै पनि लाञ्छना र विभेद कायमै रहेको दुखेसो पोख्दै समुदायस्तरमा थप सचेतना जगाउनु आवश्यक रहेको बताउनुभयो।
संक्रमितहरूलाई समाजमा सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्न राज्य र समुदाय दुवैले आ–आफ्नो तर्फबाट जिम्मेवार भूमिका खेल्नुपर्ने सरोकारवालाहरूको भनाइ छ। नेपालले सन् २०३० सम्ममा एड्स महामारी पूर्ण रूपमा अन्त्य गर्ने राष्ट्रिय लक्ष्य राखेको छ, जसअन्तर्गत संक्रमितको पहिचान, उपचार र भाइरल लोड नियन्त्रणमा ९५–९५–९५ को रणनीतिक लक्ष्य हासिल गर्न देशव्यापी अभियान सञ्चालन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्