२०८३ जेठ २२ , शुक्रबार
स्थानीय खबर

सुविधा सम्पन्न स्थायी क्रिकेट मैदान बनाउँछाैँ : मुख्यमन्त्री



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न र स्थायी प्रकृतिको क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकार पूर्ण रूपमा तत्पर रहेको बताएका छन्। वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेशमा क्रिकेटका स्थायी संरचनाहरू निर्माण गर्न सरकार केन्द्रित हुने स्पष्ट पारे। हाल खेल भइरहेका मैदानहरू अस्थायी प्रकृतिका रहेको औंल्याउँदै उनले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा आगामी दिनमा व्यवस्थित र सुविधाजनक क्रिकेट रङ्गशाला निर्माण गरिने प्रतिबद्धता जनाए। सीमित स्रोत र साधनबिच पनि कर्णालीलाई खेलकुद क्षेत्रको ‘हब’ बनाउने उद्देश्यका साथ प्रदेश सरकारले खेल पूर्वाधारहरू निर्माण गरिरहेको उनको भनाइ थियो।

​उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार पूर्ण तयारीमा जुटे पनि संघीय सरकारका कारण ढिलासुस्ती भइरहेको आरोप लगाए। केन्द्र सरकारको फितलो व्यवस्थापन र उदासिनताका कारण समयमै प्रतियोगिता आयोजना हुन नसकेको टिप्पणी गर्दै उनले संघीय सरकारले बजेट विनियोजनमा कर्णालीलाई जहिल्यै उपेक्षा गर्ने गरेको र वर्तमान सरकारले पनि त्यसैलाई निरन्तरता दिएको भन्दै आक्रोश पोखे। अक्षर र भाषणमा कर्णाली प्रदेश भनेर धेरै ठाउँमा समेटिए पनि बजेटको वास्तविक अङ्क आइपुग्दा जहिल्यै टिठलाग्दो अवस्था देखिने गरेको उनले दाबी गरे।

​सोही अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले भौतिक पूर्वाधार र खेलाडीको अभाव झेलिरहेको कर्णाली प्रदेशबाटै महिला क्रिकेटको विकास गर्ने विशेष उद्देश्यका साथ यो राष्ट्रिय छनोट प्रतियोगिता यहाँ आयोजना गरिएको प्रस्ट पारे। क्यानको मुख्य उद्देश्य नै कर्णालीबाट क्रिकेटको जग बलियो बनाउनु रहेको उनको भनाइ थियो। यसै गरी क्यानका कोषाध्यक्ष एवं कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदमबहादुर खड्काले कर्णालीमा खेलकुद पर्यटनको उच्च सम्भावना रहेको चर्चा गर्दै आगामी दिनमा पनि क्रिकेटको व्यावसायिक विकासका लागि महत्त्वपूर्ण कामहरूलाई निरन्तरता दिने बताए। प्रदेश सरकारले क्रिकेटका स्थायी पूर्वाधार निर्माण गरिदिएमा त्यसको उचित संरक्षण, रेखदेख र रङ्गशालालाई थप समृद्ध बनाउन क्यानले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

​कर्णालीमा आयोजना भइरहेको यस ऐतिहासिक राष्ट्रिय महिला अन्डर–१९ प्रतियोगिताबाटै प्रतिभावान खेलाडीहरू समेटेर उत्कृष्ट राष्ट्रिय टीमको छनोट गरिने र सोही टिमले सन् २०२७ मा आयोजना हुने आईसीसी विश्वकपमा नेपालको तर्फबाट सहभागिता जनाउने जानकारी पनि खड्काले दिए। प्रतियोगितालाई रोमान्चक र प्रोत्साहनमूलक बनाउन उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यसै गरी व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) लाई ४० हजार रुपैयाँ, उत्कृष्ट ब्याटरलाई २५ हजार रुपैयाँ, उत्कृष्ट बलरलाई २५ हजार रुपैयाँ र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार