
सुर्खेत । मुगु र डोल्पामा गरेर झण्डै १ सय २० वटै हिउँ चितुवा भेटिएका छन् । मुगु र डोल्पामा पर्ने शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा गरेर कुल १ सय २० वटा हिउँ चितुवा भेटिएको निकुञ्जले जनाएको छ । निकुञ्जअन्तर्गत मुगुको मुगुम्कार्मारोङ गाउँपालिकासहित डोल्पाका ३ वटा पालिका पर्छन् । जसमध्ये निकुञ्जभित्र ९० र आसपासका राष्ट्रिय वनमा ३० वटा हिउँ चितुवा भेटिएको शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । निकुञ्जले चितुवाको संख्या एकीन गर्न करिव ५ महिना लगाएर क्यामेरा ट्र्यापिङ विधिबाट गरेको गणना गरेको हो । हिउँ चितुवा गणनाका लागि वन क्षेत्रमा ६६ वटा स्थानमा क्यामेरा जडान गरिएको थियो ।
यसअघि पूर्वी डोल्पा र आसपासका क्षेत्रमा २४ वटा र शेफोक्सुण्डो ६२ वटा हिउ चितुवा रहेको अनुमान गरिएको थियो ।
निकुञ्जमा झारल, घोरल र नाउरको संख्या झन्डै ४ हजार रहेको तथ्यांक छ । झारल, घोरल र नाउर चितुवाको लागि मुख्य आहार हुन् । झारल, घोरल र नाउरको संख्या बढेकै कारण हिउँ चितुवाको संख्या पनि बढेको निकुञ्जको अनुमान छ ।
चोरीसिकार, आहारा, डढेलोले बास स्थानमा परेको जोखिम, जलवायु परिवर्तनको असरलगायत कारण हिउँ चितुवा संरक्षणमा चुनौती छ । हिउँ चितुवा निगालो हुने वनमा बस्न मन पराउँछ । तर स्थानीयले घरायसी प्रयोजनका लागि निगालो प्रयोग गर्न थालेपछि मासिँदै जाँदा हिउँ चितुवाको वासस्थान जोगाउन समस्या भएको छ । हिउँमा बस्ने चितुवा भएकाले जलवायु परिवर्तनको असरका कारण हिउँ कम पर्दा जोगाउन मुस्किल भएको छ । जलबायु परिवर्तनका कारण हिमाल र पाटनहरू नांगा हुन थालेपछि वासस्थान संकट परेको छ ।
यसअघि पूर्वी डोल्पा र आसपासका क्षेत्रमा २४ वटा र शेफोक्सुण्डो ६२ वटा हिउ चितुवा रहेको अनुमान गरिएको थियो । अहिले पनि हुम्ला र त्यसको आसपास क्षेत्रमा १६ वटा हिउँ चितुवा रहेको अनुमान छ । तर त्यस क्षेत्रको एकीन अझै भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत बैशाखमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालभर हिउँ चितुवाको संख्या ३३१ देखि ४७६ सम्म रहेको आँकलन गरिएको छ । हिउँ चितुवा विश्वमा दुर्लभ मानिएको बन्यजन्तु हो ।
प्रतिक्रिया दिनुहोस्