सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले यस प्रदेशका अति दुर्गम जिल्लाहरूमा पुगेर विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ। “समुदाय-प्रहरी साझेदारी” तथा “प्रहरी युनिटसँग प्रहरी अस्पताल” कार्यक्रम अन्तर्गत अस्पतालले साविक कर्णालीका अति दुर्गम मानिने हुम्ला, डोल्पा, मुगु र कालिकोट लगायतका जिल्लाहरूमा यो प्रभावकारी सेवा पुर्याएको हो।

अस्पतालका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डा. सन्जिव खड्काका अनुसार दुर्गम क्षेत्रका नागरिक र स्थानीय प्रहरी युनिटहरूलाई लक्षित गरी यो विशेष स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो। शिविरहरूमा विशेष गरी मानसिक तथा दीर्घ रोग, मादक पदार्थ सेवनबाट हुने असर, लेक लाग्ने (Altitude Sickness) र हिउँले खाने (Frostbite) जस्ता हिमाली क्षेत्रमा देखिने रैथाने स्वास्थ्य समस्याहरूको प्राथमिक उपचार र रोकथामका उपायहरूबारे सर्वसाधारणलाई विस्तृत जानकारी एवं परामर्श समेत गराइएको थियो।
यसै अभियान अन्तर्गत हुम्लाका विभिन्न विकट स्थानहरूमा सर्वसाधारण नागरिकलाई लक्षित गरेर विशेष स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख एवं हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक (डिएसपी) डा. श्यामकृष्ण लौडारीको नेतृत्वमा खटिएको सात सदस्यीय प्रहरी स्वास्थ्यकर्मीको टोलीले जिल्लामै पुगेर सेवा दिएको हो। टोलीले हुम्लाको अत्यन्तै दुर्गम मानिने नाम्खा गाउँपालिका–६, लिमी उपत्यकास्थित हल्जी र जाङ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त शिविरबाट स्थानीय ६७ जना नागरिकहरूले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन्, जसमा ५१ जना महिला र १६ जना पुरुषको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको छ।
अस्पताल प्रशासनका अनुसार “प्रहरी युनिटसँग प्रहरी अस्पताल” कार्यक्रम हालसम्म कर्णाली प्रदेशका १० मध्ये ८ वटा जिल्लाहरूमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। हालसम्म दैलेख र जाजरकोट बाहेकका अन्य सबै जिल्लामा यो सेवा पुगिसकेको र बाँकी रहेका ती दुई जिल्लामा पनि अबको केही महिनाभित्रै विशेषज्ञ टोली पठाएर सेवा दिने गरी आवश्यक योजना निर्माण भइरहेको अस्पतालका अधिकारीले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्