२०८३ जेठ २२ , शुक्रबार
कर्णालीका उपसभामुखकाे निवासमा चोरीको प्रयास

स्थानीयले देखेपछि चोर फरार



सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेको वीरेन्द्रनगरस्थित निजी निवासमा चोरीको प्रयास भएको छ। वीरेन्द्रनगर नगरपालिका–२, भुरेलेमा रहेको उनको निजी निवासमा कोही नभएको मौका छोपेर एक अज्ञात व्यक्तिले दिउँसै चोरीको प्रयास गरेका हुन्। घरमा कोही नभएको बेला भित्र पसेका ती व्यक्तिले मूल ढोकामा लगाइएको ताला फुटाउनुका साथै घरका ढोका र झ्यालहरू समेत तोडफोड गरेका छन्।

​घरभित्र पसेर सरसामानहरू चोर्ने तयारी गरिरहेकै अवस्थामा वरपरका स्थानीय बासिन्दाहरूले शङ्कास्पद गतिविधि देखेपछि चनाखो भएका थिए। स्थानीयले घरभित्र अज्ञात व्यक्ति देखेलगत्तै होहल्ला गरेपछि ती व्यक्ति सामानहरू लिन नपाउँदै घटनास्थलबाट फरार भएका छन्। घटनाका बारेमा जानकारी दिँदै उपसभामुख न्यौपानेले प्रदेश सभाको संसद् बैठक चलिरहेकाले आफू संसद्तिरै व्यस्त रहेको समयमा निवासमा कोही नभएको मौका पारेर यस किसिमको प्रयास भएको बताउनुभयो।

​जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) कवीन्द्रसिंह बोहोराले उपसभामुखको घरमा चोरीको प्रयास भएको घटनाको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार घरभित्रका सामान लिन खोजिरहेका बेला स्थानीयले फेला पारेपछि चोर भाग्न सफल भएको हो। प्रहरीले फरार व्यक्तिको पहिचान र खोजी कार्यलाई तीव्रता दिनुका साथै घटनाबारे थप कानुनी अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार