सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र कर्णाली प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा आगामी जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने यस ऐतिहासिक प्रतियोगितामा देशका सातवटै प्रदेशका टोलीहरूको सहभागिता रहनेछ। बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेश क्रिकेट संघका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको र यसले प्रदेशको खेलकुद विकासमा नयाँ आयाम थप्ने जानकारी दिए।

गत वर्ष कर्णालीमा १६ वर्षमुनिको (यू–१६) राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि क्यानले कर्णालीलाई यो नयाँ जिम्मेवारी सुम्पिएको हो। महिला क्रिकेटको इतिहासमा कर्णालीमा आयोजना हुन लागेको यो पहिलो राष्ट्रिय प्रतियोगिता खेलकुद क्षेत्रका लागि एउटा ऐतिहासिक कोसेढुङ्गा साबित हुने आयोजकको भनाइ छ। यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोली छनोटको समेत मुख्य आधार बन्नेछ। यसले देशभरका प्रतिभावान महिला क्रिकेटरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्नुका साथै कर्णालीलाई राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्न विशेष सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगिता सञ्चालनका लागि खेल मैदान, खेलाडीहरूको आवास, यातायात, सुरक्षा तथा स्वास्थ्य सेवासहितका आवश्यक व्यवस्थापकीय तयारीहरू अहिले अन्तिम चरणमा पुगेका छन्। प्रतियोगिताको पुरस्कार राशि पनि विशेष आकर्षक राखिएको छ, जसमा उपाधि विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ बन्ने खेलाडीलाई ३ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्