२०८३ जेठ २२ , शुक्रबार
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

प्राथमिकतामा कृषि, पर्यटन, पूर्वाधार र स्वास्थ्य क्षेत्र



कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा प्रस्तुत भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यज्ञराज जोसीले सरकारको नीति तथा कार्यक्रमको मुख्य बुँदाहरु प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा सरकारले कृषि पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने उल्लेख छ । प्रदेश प्रमुख जोशीको आँखाको कमजोरीको कारण सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठक प्रस्तुत गर्दै प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पर्यटन प्रवद्र्धन र सांस्कृतिक संरक्षणका लागि आगामी दशकलाई ‘कर्णाली पर्यटन दशक (२०८३/०८४–२०९३/०९४)’ को रूपमा मनाउने घोषणा गरेका छन् ।

सरकारले कृषि क्षेत्रको व्यवसायीकरण र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन उत्पादनको निर्यातलाई प्रोत्साहन गर्ने, व्यावसायिक कृषकलाई सहुलियत ब्याज अनुदान दिने, पाँच हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती गर्ने उद्यमीलाई ब्याजमा शतप्रतिशत सहुलियत प्रदान सरकारले नीति लिएको छ ।
त्यस्तै सबै स्थानीय तहलाई पक्की सडक निर्माण गर्ने, रणनीतिक सडकहरुलाई आर्थिक करिडोर र पर्यटन पहुँच मार्गको निर्माण तथा स्तरोन्नति गर्ने, सङ्घीय सरकारसँगको समन्वयमा सुर्खेत विमानस्थलको विस्तार सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
स्वास्थ्य र शिक्षामा गुणस्तरीय पहुँच स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने, क्यान्सर, मुटु र मिर्गौला जस्ता जटिल रोगका बिरामीहरूलाई उपचार सहायता प्रदान गर्ने र हरेक स्वास्थ्य संस्थाको अभिलेखलाई डिजिटलाइज गर्ने, शिक्षकहरूको क्षमता विकासका साथै सेवा प्रवाहमा कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई समेत प्रोत्साहन गर्ने नीति लिएको छ ।
कर्णालीको पानी–जनताको लगानी अभियानमार्फत जलविद्युत आयोजनाहरूमा स्थानीय जनताको शेयर लगानी सुनिश्चित गर्ने, २० मेगावाटसम्मका जलविद्युत आयोजना र हिमाली क्षेत्रमा वायु ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने समेत सरकारको नीति छ ।

प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार