२०८३ जेठ २२ , शुक्रबार

आज सार्वजनिक हुँदै कर्णाली सरकारले नीति तथा कार्यक्रम



सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज (बुधवार) सार्वजनिक गर्ने निर्णय गरेको छ। मङ्गलवार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गर्दै बुधवार बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको हो।

​प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार उक्त नीति तथा कार्यक्रम प्रदेश प्रमुखमार्फत बुधवार दिउँसो ३ बजे प्रदेश सभामा प्रस्तुत गरिने कार्यसूची रहेको छ। यसैबिच, मन्त्रिपरिषद् बैठकले सशस्त्र संघर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न आवश्यक बजेट निकासा गर्ने निर्णय समेत गरेको छ।

​स्वीकृत निर्णयअनुसार आन्दोलनका घाइते व्यक्तिहरूलाई जीवन निर्वाह विशेष भत्ता उपलब्ध गराउन कुल ४ करोड ७४ लाख ७२ हजार रुपैयाँ बराबरको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्बन्धित स्थानीय तहहरूलाई अख्तियारी प्रदान गरिनेछ। प्रदेश सरकारले उक्त रकम सम्बन्धित स्थानीय तहमार्फत पारदर्शी रूपमा वितरण गरी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई राहत तथा सम्मानस्वरूप जीवन निर्वाहमा ठोस सहयोग पुर्‍याउने जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार