सुर्खेत । शिक्षा तथा खेलकुद मन्त्रालयले मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि आवेदन दिनेमध्ये १९ जना उम्मेदवारको दरखास्त स्वीकृत गरेको छ। उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै प्रारम्भिक अध्ययन र छानबिनपछि योग्य ठहरिएका १९ जनाको नामावली सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार ‘मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम आह्वान गरिएको विज्ञापनमा परेका आवेदनहरूको विस्तृत अध्ययनपछि सिफारिस समितिको बैठकले यी उम्मेदवारहरूको आवेदन स्वीकृत गर्ने निर्णय गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको स्वीकृत उम्मेदवारहरूको सूचीमा कविप्रसाद पोख्रेल, चन्दप्रसाद रिजाल, पन्ना थापा, सुशीलकुमार शाही, सरोज कोइराला, मनोजकुमार यादव, विनयकुमार दास, नन्दबहादुर सिंह, होमनाथ चालिसे, ऐश्वर्यप्रसाद ढकाल, शेखर अर्याल, राजन सुवाल, उमेश कोइराला, यदुप्रसाद ज्ञवाली, देवबहादुर खड्का, जितेन्द्रप्रसाद उपाध्याय, कल्याणी मिश्र त्रिपाठी, शिवराज अधिकारी र लक्ष्मण ज्ञवाली रहेका छन्। यी उम्मेदवारहरूमध्ये नन्दबहादुर सिंह सोही विश्वविद्यालयमा यसअघि पनि एक कार्यकाल उपकुलपतिको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्।

कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयकाे केन्द्रीय प्रशासनिक भवन ।
प्रारम्भिक चरणमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरूमध्येबाट अब अर्को चरणको छनोट प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ। जसअन्तर्गत स्वीकृत उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण, अन्तर्वार्ता तथा समग्र प्राज्ञिक मूल्यांकन गरिनेछ। सोही मूल्यांकन प्रक्रियाका आधारमा उत्कृष्ट ठहरिएका उम्मेदवारहरूको नाम उपकुलपति नियुक्तिका लागि सिफारिस गरिने मन्त्रालयको सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्