सुर्खेत । मानव अधिकार तथा शान्ति समाजको ३० औं स्थापना दिवसका अवसरमा सुर्खेतमा एक विशेष नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ। वीरेन्द्रनगरमा आयोजित उक्त कार्यक्रममा “आदर्श नागरिक समाजको परिकल्पनाः शान्ति समाजले अवलम्वन गरेको बाटो” विषयमा केन्द्रित रहेर सरोकारवालाहरूबीच गहन छलफल र संवाद गरिएको हो।
नागरिक संवाद कार्यक्रमका संयोजक रेशम भण्डारीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका महासचिव प्रकाश शाहीले विषयकेन्द्रित अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो। सो अवधारणा पत्रमाथि विमर्श गर्दै उपस्थित वक्ताहरूले मानव अधिकार, नागरिक स्वतन्त्रता र शान्ति स्थापनाका क्षेत्रमा समाजले विगत तीन दशकदेखि पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका थिए। उनीहरूले संस्थाको गरिमामय यात्राको सराहना गर्दै स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुका साथै आगामी दिनमा शान्ति समाजले खेल्नुपर्ने भूमिकाका बारेमा महत्त्वपूर्ण सुझावहरू समेत प्रस्तुत गरे।
मिति २०८३ जेठ १९ गते सम्पन्न सो संवाद कार्यक्रममा कर्णाली प्रदेशको बौद्धिक, सामाजिक, व्यावसायिक, शैक्षिक तथा सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहित करिब तीन दर्जन अगुवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोक नाथ योगी, मध्य पश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. महेन्द्र कुमार मल्ल, बार एसोसिएसन सुर्खेतका निवर्तमान अध्यक्ष दुर्गा सापकोटा, इन्सेक कर्णाली प्रदेशका प्रमुख नारायण सुवेदी र नेपाली कांग्रेसका नेता नारायण कोईरालाले समाजको रूपान्तरणमा नागरिक समाजको दायित्वबारे आफ्ना धारणाहरू राख्नुभएको थियो।

त्यसैगरी, एस.ओ.एस हर्मन माईनर स्कुलका प्रधानाध्यापक हरिहर वस्नेत, सुर्खेत उद्योग वाणिज्य संघका उप–महासचिव पूर्णदेव अधिकारी, महिला जेसीसकी अध्यक्ष मनु सुनार, नव जीवन प्लसका प्रमुख देवेन्द्र पाठक तथा प्याब्सन वीरेन्द्रनगरका अध्यक्ष पूर्ण भण्डारीले पनि आदर्श समाज निर्माणका चुनौती र सम्भावनाबारे चर्चा गर्नुभएको थियो। कार्यक्रममा साहित्यकार धिरेन अनुपम, वातावरण विज्ञ एवं युवा वैज्ञानिक राजेन्द्र बिष्ट तथा पत्रकारद्वय बल बहादुर थापा र रमा के.सी. लगायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्