२०८३ जेठ १९ , मंगलबार
स्थानीय खबर

सुर्खेतमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ स्थित गण्डकी लाइन क्षेत्रमा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतको संयुक्त टोलीले उक्त अपरेसन चलाएको थियो।

​प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, श्रावस्ती निवासी २३ वर्षीय त्रिपुरारी लाल र उत्तर प्रदेशकै वहराईच नानपारा निवासी ५६ वर्षीय दिलिप कुमार सिंह रहेका छन्। उनीहरू दुवै जना हाल वीरेन्द्रनगर वडा नं. ३ मा कोठा भाडामा लिएर बस्दै आएका थिए। सोही क्षेत्रमा शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरीर र गुडिरहेको डेराकोठामा प्रहरी टोलीले विस्तृत खानतलासी गर्दा ७ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरेको हो।

​जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) कविन्द्र सिंह बोहराले घटनाको पुष्टि गर्दै पक्राउ परेका दुवै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको जानकारी दिएका छन्। उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार