सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको सुनचाँदीका गरगहना र लाखौँ नगदसहित एक जना कपडा व्यवसायीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ तल्लो बजारस्थित ‘शिव एम्पोरियम’ नामक कपडा पसलमा छापा मारी अनुमानित ३ करोड रुपैयाँ बराबरको मूल्यवान गहना र नेपाली तथा भारतीय रुपैयाँ बरामद गरिएको हो।

उक्त कपडा पसलमा भारतीय रुपैयाँ र सुनचाँदीका गरगहनाहरू धितो राखी गैरकानुनी रूपमा ब्याजमा नगद लगानी गर्ने गरेको विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८३ जेठ १८ गते दिउँसो करिब ४:०० बजे उक्त स्थानमा पुगेर आकस्मिक चेकिङ तथा खानतलासी गरेको थियो। खानतलासीका क्रममा गैरकानुनी रूपमा रकम र गरगहना सञ्चित गरी अवैध वित्तीय कारोबार गरिरहेको फेला परेपछि प्रहरीले पसल सञ्चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।

अवैध वित्तीय कारोबार र अवैध सम्पत्ति लुकाएको आरोपमा पक्राउ पर्नेमा ६३ वर्षीय श्याम सुन्दर अग्रवाल रहेका छन्, जसलाई स्थानीय स्तरमा ‘बालाजी’ नामले समेत चिनिन्छ। उनको स्थायी ठेगाना बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भए तापनि उनी हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा बस्दै आएका थिए।
प्रहरीले उक्त पसलबाट बरामद गरेका सामग्रीहरूको विवरण पनि सार्वजनिक गरेको छ। खानतलासीका क्रममा प्रहरी टोलीले विभिन्न दरका कुल २ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ र ८ लाख ११ हजार ८ सय भारतीय रुपैयाँ नगद फेला पारेको छ। यसका साथै विभिन्न किसिमका सुन तथा चाँदीका गरगहनाहरू राखिएका बट्टा, पोका र डिब्बा गरी कुल १८५ थान मूल्यवान गहना बरामद गरिएको छ, जसको अनुमानित बजार मूल्य करिब ३ करोड नेपाली रुपैयाँ रहेको प्रहरीको मूल्याङ्कन छ। अवैध रूपमा हुने ठुलो नगद कारोबारलाई सहज बनाउन पसलमा लुकाइराखिएको १ थान नगद गन्ने मेसिन समेत प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराका अनुसार स्रोत नखुलेको उक्त सम्पत्ति र गैरकानुनी वित्तीय कारोबारमा संलग्न अग्रवाललाई बरामद गरिएका सम्पूर्ण सामग्रीसहित नियन्त्रणमा राखेर अहिले हिरासतमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस्