२०८३ जेठ १९ , मंगलबार
वीरेन्द्रनगरको कपडा पसलमा प्रहरीको छापा

लुकाएको सुन र भारतीय रुपैयाँ बरामद



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ तल्लोबजारस्थित एक कपडा पसलमा प्रहरीले छापा मारी ठूलो परिमाणमा अवैध सुनका गहना र भारतीय रुपैयाँ बरामद गरेको छ। सोमबार बेलुका कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले स्थानीय व्यवसायी श्याम सुन्दर अग्रवालको कपडा पसलमा छापा मारेको हो।

​प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अग्रवालले कपडा व्यापारको आवरणमा अवैध रूपमा सुनका गहना धितो राखेर चर्को ब्याजमा ऋण लगानी गर्ने (मिटरब्याजी) धन्दा चलाउँदै आएका थिए।

चर्को ब्याजमा रकम असुली गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले पसलमा आकस्मिक खानतलासी गरेको थियो। सो क्रममा पसलभित्र बोरामा लुकाएर राखिएको विभिन्न किसिमका सुनका गहना र ७ लाख भारतीय रुपैयाँ नगद फेला परेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामप्रकाश शाहले जानकारी दिए।

​प्रहरीका अनुसार बरामद गरिएको सुन १ किलोभन्दा बढी रहेको अनुमान गरिएको छ। यद्यपि, ती सबै तयारी गहनाका रूपमा रहेकाले यकिन तौल र मूल्याङ्कन हुन भने बाँकी छ।

बरामद सामानको कानुनी प्रक्रिया र पारदर्शी नापजाँचका लागि प्रहरीले स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, सुनचाँदी व्यवसायी सङ्घ र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूलाई घटनास्थलमा बोलाएको छ।

​सबै सरोकारवाला निकायका प्रतिनिधिको रोहवरमा अहिले बरामद सुन र नगदको मुचुल्का तयार पार्ने काम भइरहेको छ। सुर्खेत प्रहरीका अनुसार मुचुल्काको काम सकिएलगत्तै पत्रकार सम्मेलन वा आधिकारिक विज्ञप्ति मार्फत घटनाको विस्तृत विवरण सार्वजनिक गरिनेछ। घटनाबारे प्रदेश प्रहरी टोलीले थप अनुसन्धानलाई सघन बनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार