२०८३ साउन १० , आइतबार
सुर्खेतका राजनीतिक दलका निष्कर्ष

“सीमा विवादका अभिव्बायक्ति विषयमा बालेन्द्रको गम्भीर गल्ती गरे”



सुर्खेत । प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसद्‌मा दिएको एक अभिव्यक्तिप्रति सुर्खेतमा क्रियाशील प्रमुख राजनीतिक दलहरूले गम्भीर आपत्ति जनाएका छन्। प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले “भारतीय भूमि पनि नेपालले मिचेको छ” भनी दिएको बयानप्रति कडा असहमति जनाउँदै सुर्खेतका चार राजनीतिक दलले एक संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेका हुन्।

​संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा नेपाली कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेल, नेकपा (एमाले) सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्तकुमार विश्वकर्मा र नेकपा (माओवादी) का नेता धर्मराज देवकोटा (जित सी) रहेका छन्। उनीहरूले शान्ति, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका पक्षधर राजनीतिक दलहरूले विगतदेखि नै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा दृढतापूर्वक आवाज उठाउँदै आएको स्मरण गराएका छन्।

​नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सुरक्षा तथा स्वाभिमानसँग प्रत्यक्ष जोडिएको सीमा समस्या जस्तो संवेदनशील विषयमा देशको कार्यकारी प्रमुखबाटै यस्तो अभिव्यक्ति आउनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ। दलहरूले कुनै पनि प्रमाण, तथ्य वा आधिकारिक आधारविना नेपालको संसद् जस्तो गरिमामय ठाउँमा व्यक्त गरिएको यस्तो भनाइले अन्तर्राष्ट्रिय स्तरमा नेपालको ऐतिहासिक दाबी र कूटनीतिलाई कमजोर बनाउने गम्भीर जोखिम सिर्जना गरेको आरोप लगाएका छन्।

​नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभागहरू नेपालको अविभाज्य अङ्ग भएको विषय ऐतिहासिक दस्तावेज, सन्धि, प्रमाण र संवैधानिक व्यवस्थाका आधारमा निरन्तर उठाउँदै आएको कुरा विज्ञप्तिमा जोड दिइएको छ। संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गरेको र नेपालको संविधानमा समेटिएको अद्यावधिक राष्ट्रिय नक्साले नेपालको स्पष्ट अडान स्थापित गरिसकेको अवस्थामा प्रधानमन्त्रीबाटै ऐतिहासिक दाबीलाई अन्योलमा पार्ने अभिव्यक्ति आउनु राष्ट्रिय हित विपरीत र गम्भीर चिन्ताको विषय भएको दलहरूको ठहर छ।

​नेपालको कुनै पनि आधिकारिक नक्सा, ऐतिहासिक अभिलेख वा राज्यको दस्ताबेजले नेपालले भारतीय भूमि अतिक्रमण गरेको पुष्टि नगर्ने उल्लेख गर्दै नेताहरूले प्रधानमन्त्रीको उक्त भनाइको खण्डन गरेका छन्। विज्ञप्तिको अन्त्यमा सुर्खेतका क्रियाशील दलहरूले सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, बुद्धिजीवी, युवा तथा विद्यार्थी लगायत आम जनसमुदायलाई एकजुट भई दृढताका साथ राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन हार्दिक आह्वान समेत गरेका छन्।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार