सुर्खेत । हावाहुरीका कारण रुख ढलेर राष्ट्रिय प्रसारण लाइनको टावरमा क्षति पुगेपछि अवरुद्ध बनेको कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् सेवा पूर्ण रूपमा सुचारु हुन अझै कम्तीमा दुई साता लाग्ने भएको छ।
गत वैशाख २६ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको चिसापानी चेकपोस्टदेखि पूर्वी क्षेत्रमा ठुलो सालको रुख ढलेर तारमा बज्रिँदा प्रसारण लाइनको टावर ढलेको थियो। उक्त टावर ढलेयता सुर्खेतलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुँदै आएको छ।

क्षतिग्रस्त क्षेत्रमा अहिले टावर पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ। पहिलो चरण अन्तर्गत टावरको फाउन्डेसन (जग) ढलानको काम सम्पन्न भइसकेको छ। १३२ केभीए विद्युत् आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार अबको दुई साताभित्र टावर खडा गर्ने र तार तान्ने काम सम्पन्न गरी विद्युत् सेवा नियमित गर्ने तयारी भइरहेको छ।
”अवरुद्ध विद्युत् छिटो सुचारु गर्न हामीले फाउन्डेसन निर्माणको काम गत सोमबार नै सकेका छौँ,” आयोजना प्रमुख चौधरीले भने, “अब टावर खडा गर्ने र तार तान्न कम्तीमा दुई साता लाग्छ। त्यसपछि मात्रै विद्युत् नियमित हुन्छ।”
रुखको जोखिम अझै कायमै
आयोजना प्रमुख चौधरीका अनुसार प्रसारण लाइनको क्षेत्राधिकार (Right of Way) भन्दा बाहिर रहेको करिब ३८ मिटर लामो र ३ मिटर मोटाइको विशाल सालको रुख ढलेर तारमा लाग्दा टावरमा गम्भीर क्षति पुगेको हो। प्रसारण लाइनको मध्यविन्दुबाट दायाँबायाँ ९/९ मिटर क्षेत्रभित्र पर्ने रुखहरू यसअघि नै हटाइसकिएको भए पनि क्षेत्राधिकार बाहिरका जोखिमपूर्ण रुखहरू काट्न अनुमति नपाउँदा यस्तो दुर्घटना भएको हो।
उनका अनुसार चिसापानी क्षेत्रमा अझै पनि यस्ता ८० भन्दा बढी जोखिमपूर्ण रुखहरू रहेका छन्। यी रुखहरू नहटाइए आगामी दिनमा पनि यस्तै जोखिम रहने भन्दै यसबारे माथिल्लो निकायलाई पहिले नै जानकारी गराइसकिएको चौधरीले बताए। निकुञ्जभित्रका रुखहरू काट्न वन तथा वातावरण मन्त्रालयको स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रियाका कारण समयमै जोखिम न्यूनीकरण गर्न कठिनाइ भइरहेको आयोजनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्