२०८३ वैशाख ५ , शनिबार
महंगीको मारमा दुर्गमका नागरिक

एक किलो नुनको मूल्य ५५ रुपैयाँ



सुर्खेत । भौगोलिक विकटताका कारण दुर्गमका नागरिक महंगीको मारमा परेका छन् । कर्णालीका हुम्ला, मुगु र डोल्पाका नागरिकहरु महंगीको मारमा परेका पर्दै आएका छन् । सडक यातायातको सहज पहुँच नहुँदा दुर्गमका नागरिकले चर्काे मूल्य तिरेर दैनिक उपभोग्य बस्तु प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । जसको पछिल्लो उदाहरण हुम्लाको सर्केगाड गाउँपालिकामा आयोडिनयुक्त नुनको मूल्यलाई लिन सकिन्छ । सर्केगाडमा नुनको सहज आपूर्ति नभएपछि स्थानीयले चर्काे मूल्य तिरेर नुन किन्नुपर्ने बाध्यता भएको छ । सर्केगाडका नागरिकले एक किलो नूनको मूल्य ५५ रुपैयाँसम्म तिर्नु परेको छ । बजारमा व्यापारीले ल्याएको आयोडिनयुक्त नुन प्रतिकेजी ५५ रुपियाँमा खरिद गरेर उपभोग गरिरहेको सर्केगाडका स्थानीय वसन्ती शाहीले बताए ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले एक वर्षका लागि निर्धारण गरेको कोटाको नुन अपुग भएपछि हाल नुन अभाव भएको सर्केगाड गाउँपालिका–४ का वडाध्यक्ष धनबहादुर छत्यालले जानकारी दिए ।

पहिले ढुवानी अनुदानको नुन थोरै पाएको र त्यो सकिएपछि सात महिनादेखि महँगो मूल्यको नुन खरिद गरी उपभोग गरिरहेको उनले बताए । जिल्लाभर सस्तोमा नुन उपभोग गर्ने कुरा बाहिर आए पनि आफुहरू बर्सेनि महँगो नुन उपभोग गरिरहेको बताउँदै उनले सरकारले पनि आवश्यकता अनुसार नुनको कोटा निर्धारण गर्नुपर्ने माग गरे ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले एक वर्षका लागि निर्धारण गरेको कोटाको नुन अपुग भएपछि हाल नुन अभाव भएको सर्केगाड गाउँपालिका–४ का वडाध्यक्ष धनबहादुर छत्यालले जानकारी दिए । लिमिटेडले हुम्ला जिल्लाका लागि ढुवानी अनुदानमा नुन उपलब्ध गराउँदै आए पनि त्यो अपुग हुने गरेको उनले बताए । सो नुनको मूल्य प्रतिकेजी नौ रुपियाँ पर्ने गर्छ । हाल बजारको मूल्यमा बिक्री भइरहेको नुन पाँच गुणा बढी मूल्य तिरेर उपभोक्ताले खरिद गर्नु परिरहेको छ । गत आवमा लिमिटेडले सर्केगाड गाउँपालिकाका लागि नौ सय क्विन्टल नुनको कोटा निर्धारण गरिएबमोजिम सबै नुन ढुवानी भएर आइपुगेको र त्यसलाई जनसङ्ख्या अनुसार प्रत्येक वडामा ४७ देखि ५५ क्विन्टलसम्म वितरण गरिएको छ ।
वडालाई प्राप्त नुन प्रतिघरधुरी १५ केजीका दरले बिक्री गरिएको बताउँदै उनले यति नुन एक घरधुरीका लागि वार्षिक रूपमा पर्याप्त नभएको तर्क गरे । लिमिटेडको नुन नपाइएपछि उपभोक्ता महँगो मूल्यमा नुन खरिद गर्न बाध्य भएको वडा नं. ३ का वडाध्यक्ष अकिल कार्कीले बताए । लिमिटेडबाट ढुवानी अनुदानमा नुन दिएको देखिने तर उपभोक्ताले नुन अपुग भएपछि महँगो मूल्यमा खरिद गरेर प्रयोग गर्नु दुःखद भएको उनको धारणा छ ।
जनसङ्ख्या अनुसार लिमिटेड केन्द्रबाट निर्धारित कोटा ठिकै भए पनि व्यावहारिक रूपमा नुनको समस्या देखिएको लिमिटेड शाखाका प्रमुख राजबहादुर लामाले बताए । सर्केगाड गाउँपालिकाको जनसङ्ख्या १० हजार ६८८ रहेको छ । उनले गाउँपालिकाका मानिसले मात्र सो नुन उपभोग नगरेर पशुवस्तु र भेडाबाख्राका लागि पनि प्रयोग गरिने भएका कारण नुन अभाव हुनु स्वाभाविक भएको तर्क गरे ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार