२०८३ जेठ १९ , मंगलबार
विभिन्न सङ्घसंस्थाद्वारा रक्तदान

सुर्खेतमा एकैदिन संकलन भयाे ५४ पिन्ट रगत 



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार विभिन्न सङ्घसंस्थाहरू गरेकाे रक्तदान कार्यक्रमबाट एकैदिन ५४ पिन्ट रगत सङ्कलन भएको छ। गणतन्त्र दिवस, संस्थाको वार्षिकोत्सव तथा सप्ताहव्यापी कार्यक्रमको अवसर पारेर प्रदेश सरकार र विभिन्न सामाजिक सङ्घसंस्थाहरूले छुट्टाछुट्टै रूपमा आयोजना गरेका कार्यक्रमहरूबाट उक्त परिमाणमा रगत सङ्कलन गरिएको हो।

कुल सङ्कलित रगतमध्ये कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमबाट ६ पिन्ट रगत सङ्कलन भएको छ। यसैगरी, सुर्खेत महिला जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजना गरेको रक्तदानबाट १७ पिन्ट र मानव अधिकार तथा शान्ति समाजले आफ्नो ३० औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमबाट ३१ पिन्ट रगत सङ्कलन गरिएको छ।

सुर्खेत महिला जेसीजकी अध्यक्ष मनु सुनारले संस्थाले हरेक वर्ष आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यस वर्ष पनि मानवीय सेवाको यस महत्त्वपूर्ण कार्यलाई निरन्तरता दिइएको बताइन्। रक्तदान जस्तो पवित्र र जीवनदायी कार्यलाई सफल बनाउन प्राविधिक लगायतका आवश्यक समन्वय गरिदिने नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखालाई उनले विशेष धन्यवाद ज्ञापन गरिन्।

यस्तै, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले संस्थाको ३० औँ स्थापना दिवसको अवसर पारेर सुर्खेत शाखाद्वारा आयोजित सप्ताहव्यापी अभियानको पहिलो दिन रक्तदान गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको जानकारी दिए। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको यस किसिमको सामूहिक सक्रियताले जिल्लामा हुने रगत अभावको समस्यालाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्लाे समय सुर्खेतमा रगत अभाव हुँदै अाएकाे थियाे । एकै दिन ५१ पिन्ट रगत स‌कलन हुँदा रगत दान गर्नुपर्ने विरामीलाइ ठूलाे राहत मिलेकाे छ ।

प्रकाशित मिति : २०८३ जेठ १६ गते शनिबार