सुर्खेत । कर्णाली प्रदेश तेक्वान्दो सङ्घको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। प्रादेशिक राजधानी वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले टोपेन्द्रजङ्ग शाहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुदाम के.सी. र केशर बहादुर रोकाय सर्वसम्मत चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी खिमराज बस्यालले प्राप्त गरेका छन्। यसैगरी, सङ्घको नयाँ कार्यसमिति सदस्यहरूमा प्रबिन बयक, लालबहादुर थापा, पूजा सिंह ठकुरी र राधा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। सदस्य पदमै गङ्गाराम आचार्य, टिकाराम शाही र दिलीप श्रेष्ठले पनि सर्वसम्मत रूपमा जिम्मेवारी पाएका छन्। सङ्घको पदाधिकारी तथा सदस्यहरूमा खेल क्षेत्रका स्थापित अनुहारहरू निर्विरोध चयन भएका हुन्।

नयाँ कार्यसमितिले कर्णाली प्रदेशमा तेक्वान्दो खेलको संस्थागत विकास, डोजाङहरूको सुदृढीकरण तथा प्रादेशिक स्तरमा प्रतिभावान खेलाडी उत्पादनका लागि विशेष योजनासहित काम गर्ने प्रतिबद्धता जनाएको छ। सर्वसम्मत रूपमा नेतृत्व चयन भएसँगै आगामी दिनमा यस प्रदेशमा मार्सल आर्ट्सका गतिविधिले थप गति लिने खेल सम्बद्ध सरोकारवालाहरूले अपेक्षा गरेका छन्।
प्रतिक्रिया दिनुहोस्