सुर्खेत । राजधानी वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा जारी १६ औँ कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल विधाको उपाधि छात्रतर्फ जाजरकोट र छात्रातर्फ सल्यान जिल्लाले हात पारेका छन्।
कर्णालीका १० वटै जिल्लाका छात्र तथा छात्रा खेलाडीबिच भएको कडा प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उनीहरूले उपाधि चुमेका हुन्।

निक्कै रोमाञ्चक बनेको छात्रतर्फको भलिबल फाइनल भिडन्तमा रुकुम पश्चिमलाई पराजित गर्दै जाजरकोट जिल्ला प्रथम (च्याम्पियन) बन्न सफल भएको छ। उपाधि भिडन्तमा उपविजेता बनेको रुकुम पश्चिमले द्वितीय स्थानमा चित्त बुझाउँदा कालिकोट जिल्लाले तृतीय स्थान हासिल गरेको छ।
यसै गरी, छात्रातर्फको भलिबल खेलमा सल्यान जिल्लाले बाजी मारेको छ। सल्यानले घरेलु टोली सुर्खेतलाई हराउँदै प्रथम स्थान हासिल गरेको हो। उपाधि नजिक पुगेर पनि पराजित भएको सुर्खेत द्वितीय हुँदा रुकुम पश्चिमको टोलीले तेस्रो (तृतीय) स्थान सुरक्षित गरेको छ।

सामाजिक विकास मन्त्रालयको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद् कर्णालीको समन्वयमा सञ्चालित यस प्रतियोगिताले प्रदेशमा लुकेर रहेका जगैदेखिका प्रतिभावान खेलाडीहरूको पहिचान र विकासमा ठुलो टेवा पुर्याउने विश्वास खेल सम्बद्ध सरोकारवालाहरूले लिएका छन्। विजेता जिल्ला तथा खेलाडीहरूलाई प्रतियोगिताको समापन समारोहमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्