२०८३ जेठ १९ , मंगलबार
महिला जेसीजको 'जेसीज सप्ताह ब्यापी कार्यक्रम

रक्तदानदेखि स्वास्थ्य शिविर र नारी सम्मानसम्म



सुर्खेत । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था सुर्खेत महिला जेसीजले सामाजिक उत्तरदायित्व र महिला सशक्केतीकरणलाई प्राथमिकतामा राख्दै जेठ १५ गतेदेखि सप्ताहव्यापी “जेसीज सप्ताह–२०२६” आयोजना गर्ने भएको छ।

​सप्ताहव्यापी कार्यक्रमको औपचारिक सुरुवात आगामी जेठ १५ गते वीरेन्द्रनगरस्थित शुभ होटलबाट हुनेछ। जेसी लक्ष्मी बीसी र जेसी झरना विष्टको संयोजनमा बिहान ११ बजे उद्घाटन हुने उक्त समारोहसँगै संस्थाले वक्तृत्वकला प्रतियोगिता लगायतका विभिन्न रचनात्मक गतिविधिहरू अगाडि बढाउने सुर्खेत महिला जेसीजकी अध्यक्ष निशी हाङ सुनार (मनु सुनार) ले जानकारी दिइन्।

​उद्घाटनको भोलिपल्ट अर्थात् जेठ १६ गते बिहान ६ बजेदेखि वीरेन्द्रनगरको मुख्य चोक मङ्गलगढीमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। समाजमा भइरहेको रगतको अभावलाई न्यूनीकरण गर्ने उद्देश्य बोकेको यस कार्यक्रमको संयोजन जेसी रितु वयलकोटीले गर्नेछिन्। लगत्तै जेठ १७ गते पुनः शुभ होटलमा युवाहरूको क्षमता अभिवृद्धि र व्यक्तित्व निर्माणका लागि विशेष नेतृत्व विकास तालिम सञ्चालन गरिनेछ, जसको जिम्मेवारी जेसी बसन्ता कार्कीलाई दिइएको छ।

​तालिमको केही दिनपछि अर्थात् जेठ २२ गते दिउँसो १ बजेदेखि वीरेन्द्रनगर वडा नम्बर ६ को कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिनेछ। जेसी बालकुमारी सुनारको संयोजनमा चल्ने उक्त शिविरमार्फत स्थानीय सर्वसाधारण नागरिकहरूलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरिने संस्थाले जनाएको छ।

​अन्ततः जेठ २३ गते शुभ होटलमा आयोजना हुने “नारी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम” सँगै यो सप्ताहव्यापी अभियानको औपचारिक समापन हुनेछ। जेसी सुमित्रा चौधरी र जेसी सुस्मिता रिजालले संयोजन गर्ने सो अन्तिम दिनको कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान गरिनुका साथै सप्ताहभरका उत्कृष्ट सहभागीहरूलाई पुरस्कृत गरिनेछ।

​सुर्खेत महिला जेसीजकी महासचिव जेसी भावना राना र मूल संयोजक जेसी भिमा शाहीले जेसीज सप्ताहले सामाजिक चेतना जगाउनुका साथै कर्णालीका युवाहरूलाई सकारात्मक ऊर्जा दिने विश्वास व्यक्त गर्दै यस अभियानमा सम्पूर्ण नगरवासी, विद्यार्थी र सञ्चारकर्मी साथीहरूलाई सक्रिय सहभागिताका लागि अपिल गरेका छन्।

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार