सुर्खेत । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतले नागरिकको स्वास्थ्योपचारलाई थप सहज बनाउन सार्वजनिक बिदाका दिनहरूमा पनि बहिरङ्ग (OPD) सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले एक सूचना जारी गर्दै विभिन्न राष्ट्रिय तथा प्रादेशिक बिदाका दिनहरूमा अस्पताल पूर्ण रूपमा बन्द नगरेर ओपिडी सेवा सुचारु राख्ने निर्णय गरेको हो।
अस्पतालका निर्देशक डा. गणेश थापाका अनुसार शनिबार बाहेक नेपाल सरकारले आकस्मिक रूपमा घोषणा गर्ने बिदाका दिन तथा आइतबार बाहेकका अन्य तोकिएका सार्वजनिक बिदाहरूमा बिरामीले नियमित रूपमा ओपिडी सेवा पाउने छन्।

अस्पतालले जारी गरेको सूची अनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सङ्क्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा/उँधौली पर्व, क्रिसमस डे, तमु ल्होछार, पृथ्वी जयन्ती, माघे सङ्क्रान्ति, प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, ग्याल्पो ल्होसार, इद उल फित्र र बकर इद (इद उल अजहा) जस्ता पर्व तथा विशेष बिदाका दिनहरूमा पनि ओपिडी सेवा निरन्तर सञ्चालन हुनेछ।
लामो बिदाका कारण दूरदराजबाट आउने बिरामीहरू मर्कामा पर्ने र अस्पतालमा चाप बढ्ने समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पतालले यो जनमुखी निर्णय लिएको हो। अस्पतालको यो कदमबाट विशेष गरी दैनिक ज्यालादारी गर्ने मजदुर र ग्रामीण क्षेत्रबाट उपचारका लागि सुर्खेत झर्ने बिरामीहरूलाई ठुलो राहत पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्