सुर्खेत । सुर्खेतमा टिप्परको ठक्करबाट एक पैदलयात्री युवकको मृत्यु भएको छ। जिल्लाको भेरीगङ्गा नगरपालिका–२, कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०६४७ नम्बरको टिप्परले ठक्कर दिँदा स्थानीय २३ वर्षीय कमल वलीको मृत्यु भएको हो।

गएराति टिप्परको ठक्करबाट गम्भीर घाइते भएका वलीलाई तत्काल उद्धार गरी थप उपचारका लागि वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
एसपी पोखरेलका अनुसार दुर्घटना लगत्तै आवश्यक कारबाहीका लागि टिप्पर चालक मानबहादुर चौधरी र टिप्परलाई सत्तरी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतक वलीको शवलाई अहिले प्रदेश अस्पतालको शव गृह (मर्चरी) मा राखिएको र घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्