२०८३ भदौ ३१ , बुधबार
मानव अधिकार अायाेगकाे २६ औँ वार्षिकोत्सव

सामूहिक पहलबाट मात्रै मानव अधिकारको संरक्षणम जोड



सुर्खेत । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतले आफ्नो स्थापनाको २६ औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। वार्षिकोत्सवको अवसरमा बुधबार आयोगको प्रदेश कार्यालयले सरोकारवालाहरूबिच एक परिचयात्मक तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको हो।

​कार्यक्रममा सहभागी सङ्घ तथा प्रदेश सरकार मातहतका निकायका प्रमुख, मानव अधिकारकर्मी र विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूले आयोगको विगतको कार्यसम्पादनको समीक्षा गर्दै आगामी दिनमा खेल्नुपर्ने भूमिका र चुनौतीबारे आ-आफ्नो धारणा राखेका थिए।

​शुभकामना व्यक्त गर्दै सहभागीहरूले समाजमा मानव अधिकारको पूर्ण संरक्षण र संवर्धन केवल एउटा निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै यसका लागि राज्य, नागरिक समाज र सञ्चार क्षेत्रको सामूहिक पहल आवश्यक रहेको औँल्याए।

​कर्णाली जस्तो भौगोलिक रूपमा विकट र सामाजिक रूपमा पछि परेको क्षेत्रमा आयोगले अहिलेसम्म सम्पादन गरेका कार्यहरू सन्तोषजनक रहेको उल्लेख गर्दै उनीहरूले आगामी दिनमा आफ्ना गतिविधिहरूलाई अझै गाउँ-गाउँ र नागरिकको प्रत्यक्ष पहुँचसम्म पुर्‍याउने गरी प्रभावकारी बनाउन सुझाव दिएका छन्।

​कार्यक्रममा आयोगको कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले चालु आर्थिक वर्षमा आयोगले गरेका अनुगमन, अध्ययन, उजुरीउपरका छानबिन तथा मानव अधिकार प्रवर्धनका क्षेत्रमा सम्पादन गरेका मुख्य-मुख्य कार्यहरूको विवरण प्रस्तुत गरेका थिए।

​यसअघि कार्यक्रमको सुरुमा मानव अधिकार अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै वार्षिकोत्सव कार्यक्रमको उद्देश्य र आयोगको गरिमाबारे प्रकाश पारेका थिए।

​वार्षिकोत्सव समारोहमा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयका उच्च अधिकारीहरू, सुर्खेत जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न पेसागत महासङ्घका अगुवाहरू, कानुन व्यवसायी, नागरिक समाज, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (I/NGOs) का प्रमुखहरू, विकास साझेदार संस्थाका प्रतिनिधिहरू, पत्रकार र आयोगका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार