२०८३ भदौ ३० , मंगलबार
काठमाडौँबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना

३८ जना घाइते, २ को अवस्था गम्भीर



सुर्खेत ।  काठमाडौँबाट सुर्खेततर्फ आउँदै गरेको यात्रुवाहक बस मंगलबार बिहान कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४, बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकमा दुर्घटना भएको छ। कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्।

​दुर्घटनालगत्तै स्थानीय र प्रहरीको टोलीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाएको थियो। त्यहाँ प्राथमिक उपचारपछि घाइतेमध्ये ३५ जनालाई थप उपचारका लागि रूपन्देहीको भैरहवास्थित विभिन्न अस्पतालहरूमा रिफर गरिएको प्रहरीले जनाएको छ।

​प्रहरीका अनुसार दुर्घटनामा परेका यात्रुहरूमध्ये २ जनाको अवस्था निकै गम्भीर छ भने १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ। ​बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विकको अवस्था चिन्ताजनक रहेको छ भने बस चालक सुर्खेतका ३० वर्षीय डिल्लीप्रसाद दाहाल र सहचालक राजन बुढासहित अधिकांश यात्रुहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

​दुर्घटनामा परेका यात्रुहरू सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, बाँके, झापा, काठमाडौँ, ललितपुर र ओखलढुङ्गा लगायतका जिल्लाका रहेका छन्।

​घटनास्थलमा पुगेको प्रहरी टोलीले १२ जना घाइतेलाई आफ्नै कार्यक्षेत्रको सवारीसाधन (प्रहरी भ्यान) मार्फत र अन्य घाइतेहरूलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याएको थियो। दुर्घटनामा सामान्य चोट लागेका तथा सकुशल रहेका अन्य यात्रुहरूलाई भने वैकल्पिक व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

​बस के-कति कारणले अनियन्त्रित भई पल्टिएको हो भन्नेबारे इलाका प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार