सुर्खेत । कर्णाली प्रदेश स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि राजधानी वीरेन्द्रनगरमा भव्य रूपमा सुरु भएको छ। प्रदेश रङ्गशाला सुर्खेतमा आयोजित एक विशेष समारोहका बिच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा यो प्रतियोगिता सञ्चालन भएको हो।
उद्घाटन समारोह कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सरकारका अन्य माननीय मन्त्रीहरू, उच्च पदस्थ सरकारी अधिकारीहरू, खेलकुद क्षेत्रका पदाधिकारीहरू, विभिन्न जिल्लाबाट आएका प्रशिक्षक तथा खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका उत्कृष्ट छात्र तथा छात्रा खेलाडीहरूले विभिन्न विधाका खेलहरूमा प्रतिस्पर्धा गर्नेछन्। प्रदेश रङ्गशालामा सुरु भएको यो प्रतियोगिताले कर्णालीमा विद्यालय तहदेखि नै प्रतिभावान खेलाडीहरूको पहिचान र विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।
प्रतिक्रिया दिनुहोस्