२०८३ भदौ २९ , सोमबार
अपाङ्गता भएकालाइ सहाजता सामग्री

दृष्टिबिहीनलाइ लट्ठी, अपागंलाइ ह्लुचियर



सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ अन्तर्गत सुर्खेतको चौकुने गाउँपालिकाका अपाङ्गता भएका नागरिकहरूलाई सहायक/सहायता सामग्री वितरण गरिएको छ।

​मन्त्रालयले साझेदारी कार्यक्रम सञ्चालनका लागि स्थानीय तहहरूबाट प्रस्ताव आह्वान गरेकोमा सोही प्रस्तावका आधारमा उत्कृष्ट छनोट भई चौकुने गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको हो।

​गाउँपालिकामा आयोजित एक विशेष समारोहका बिच सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अपाङ्गता भएका नागरिकहरूलाई आवश्यक सहायता सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

​सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घनश्याम भण्डारीले अपाङ्गता भएका नागरिकहरूको हक-अधिकार र सहायताका लागि राज्य सधैँ साथमा छ भन्ने कुराको प्रत्यक्ष अनुभूति हुने गरी प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताए।

​”मानवीय जीवनमा कुन बेला कसलाई अपाङ्गता हुन्छ भन्ने कुरा कसैलाई निश्चित हुँदैन,” मन्त्री भण्डारीले भने, “त्यसैले अपाङ्गता भएका नागरिकहरूको सवालमा समाज र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार र संवेदनशील बन्नुपर्छ।”

​प्रदेश सरकारले अपाङ्गता सम्बन्धी छुट्टै नीति समेत ल्याएर सोही बमोजिम रणनीतिक कार्यक्रमहरू कार्यान्वयन गरिरहेको मन्त्री भण्डारीले जानकारी दिए। आगामी दिनमा यी कार्यक्रमहरूलाई थप परिमार्जित र प्रभावकारी बनाउँदै लैजाने उनले प्रतिबद्धता जनाए।

​अहिले सुर्खेतको पश्चिमी क्षेत्रमा पर्ने चौकुने गाउँपालिकाबाट सुरु भएको यो कार्यक्रमलाई भविष्यमा कर्णाली प्रदेशका सबै ७९ वटै स्थानीय तहसम्म विस्तार गर्ने मन्त्रालयको दीर्घकालीन योजना रहेको समेत मन्त्री भण्डारीले स्पष्ट पारे।

​सामग्री पाएपछि स्थानीय अपाङ्गता भएका नागरिक तथा उनीहरूका परिवारले खुसी व्यक्त गर्दै स्थानीय सरकार र प्रदेश सरकारको यो समन्वयकारी कदमको प्रशंसा गरेका छन्।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार