२०८३ साउन ११ , सोमबार
रित्तिँदै गाउँघर

विद्यालयलाई ‘उत्पादन केन्द्र’ बनाउने शैक्षिक योजना आवश्यक



सुर्खेत । गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्य सेवा नपाएकै कारण कर्णालीका ग्रामीण क्षेत्रबाट बसाइँसराइ तीव्र रूपमा बढिरहेको र यसले गाउँका विद्यालयहरू विद्यार्थीविहीन बन्ने खतरा बढेको सरोकारवालाहरूले औँल्याएका छन्।
​वीरेन्द्रनगरमा आयोजित ‘गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम’ (SESP) परियोजनाको प्रदेशस्तरीय सिकाइ आदान-प्रदान कार्यशालामा सहभागीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
​कार्यशालामा स्थानीय सरकारहरूले परम्परागत शैक्षिक योजना बदल्नुपर्ने र गाउँमै बस्ने वातावरण सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको छ।
​गाउँमै बस्ने वातावरण र स्वरोजगारमूलक शिक्षा
​कार्यशालामा उठेका मुख्य विषय तथा सुझावहरू यस प्रकार छन्:
​बसाइँसराइको चुनौती र सामाधान: शिक्षा र स्वास्थ्यका कारण गाउँबाट सहरतर्फ भइरहेको तीव्र बसाइँसराइले ग्रामीण विद्यालयहरूमा विद्यार्थीको चरम अभाव देखिन थालेको छ। यस्ता शैक्षिक परियोजनाहरूले अब ग्रामीण क्षेत्रमै टिकिरहने र गुणस्तरीय शिक्षा पाउने वातावरण निर्माण गर्न ढिलाइ गर्नु हुँदैन।
​सीपयुक्त र उत्पादनमुखी ज्ञान: स्थानीय तहहरूले अब बजेट र योजना बनाउँदा केवल सैद्धान्तिक मात्र नभई स्थानीय उत्पादन र स्वरोजगारमूलक सीपयुक्त ज्ञान प्राप्त गर्ने किसिमको व्यावहारिक शैक्षिक योजना निर्माण गर्नुपर्छ।


​विद्यालयलाई उत्पादन केन्द्र बनाउने अवधारणा: विद्यालयहरूलाई केवल कण्ठ गर्ने थलो मात्र नबनाई स्थानीय उत्पादन र अर्थतन्त्रसँग जोडेर ‘उत्पादन केन्द्र’ का रूपमा विकास गर्न सकिने ठुलो सम्भावना छ। स्थानीय सरकारले आगामी योजनाहरूमा यसतर्फ विशेष ध्यान दिन आवश्यक छ।
​योजना निर्माणमा स्थानीय तहको क्षमता अभिवृद्धि
​विद्यालय शिक्षा क्षेत्र योजना (SESP) ले स्थानीय सरकारहरूको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्षमता बढाउन काम गरिरहेको छ।
​कार्यशालाका सहभागीहरूले सिकेका अनुभव र असल अभ्यासहरूलाई स्थानीय तहको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा व्यावहारिक रूपमै उतार्न सके कर्णालीको शैक्षिक गुणस्तर र स्थानीय रोजगारीमा ठुलो परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार