सुर्खेत । सुर्खेतको कोपिला भ्याली स्कूलमा तीन दिने ‘नमूना बाल प्रदेशसभा अभ्यास’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कोपिला भ्याली सेवा समाज र कोपिला भ्याली स्कूलको संयुक्त आयोजनामा गत शुक्रबारदेखि सुरु भएको उक्त नमूना अभ्यास आइतबार एक विशेष समारोहका बिच समापन गरिएको हो।
नेपालको प्रदेशसभा प्रणाली, कानुन निर्माण प्रक्रिया र बालबालिकाहरूमा वैज्ञानिक तर्ककलाको विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लले जानकारी दिए। तीन दिनसम्म सञ्चालन भएको यस नवप्रवर्तनकारी अभ्यासमा वीरेन्द्रनगरका १० वटा विभिन्न विद्यालयका ४० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
यूएनडीपी संसद सहयाेग परियाेजनाकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा कर्णाली प्रदेशसभा सचिवालयका अधिकृत राजेन्द्र पौडेलले प्रमुख प्रशिक्षक र युवा पत्रकार तिलक पौडेलले प्रशिक्षकका रूपमा बालबालिकाहरूलाई सहजीकरण गरेका थिए।
सहभागी बालबालिकाहरूलाई बालअधिकार, नेपालको संसदीय अभ्यास, प्रदेशसभाको कार्यप्रणाली तथा सरकारको नीति एवं कार्यक्रम संसद्मा टेबुल र छलफल हुने कानुनी प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गरिएको प्रशिक्षक तिलक पौडेलले बताए।
विद्यार्थीहरूलाई संसदीय व्यवस्थाको वास्तविक र व्यावहारिक अनुभूति दिलाउनका लागि गोलाप्रथा (लकी ड्र) मार्फत सत्तापक्ष, प्रतिपक्ष, सभामुख, दलको नेता र मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको थियो।
समापन कार्यक्रममा विद्यार्थीहरूले दुरुस्तै वास्तविक संसद्को झल्को दिने गरी नमूना संसदीय अभ्यास प्रस्तुत गरेका थिए। जसमा नमूना प्रदेश प्रमुखबाट संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।
सत्तापक्षका भूमिकामा रहेका बाल सांसदहरूले सरकारको नीति तथा कार्यक्रमको जोडदार बचाउ गरेका थिए भने प्रतिपक्षको भूमिकामा रहेका विद्यार्थीहरूले सरकारको नीति तथा कार्यक्रम अव्यवहारिक, अस्पष्ट र कार्यान्वयनको कुनै ठोस आधार नभएको भन्दै कडा शब्दमा टिप्पणी र आलोचना गरेका थिए।

नमूना बाल प्रदेशसभा अभ्यासकाे समापन कार्यक्रमका सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यार्थीहरू
समापन कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले बालबालिकाहरूको वाककला, प्रष्टता र गज्जबको आत्मविश्वास देख्दा आफू निकै प्रेरित भएको बताइन्। “नमूना बाल प्रदेशसभामा बालबालिकाहरूले उठाएका कतिपय गम्भीर र सान्दर्भिक विषयवस्तुहरूलाई मैले आगामी दिनमा वास्तविक प्रदेशसभामा व्यावहारिक रूपमा प्रस्तुत गर्नेछु,” सांसद शाहीले प्रतिबद्धता जनाइन्। नेपालको संसदीय अभ्यासले युवाहरूलाई नेतृत्वमा आउन थप उत्प्रेरित गर्ने उनको भनाइ थियो।
कार्यक्रमको समापनमा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र र सम्बन्धित विद्यालयहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। विद्यालयको किताबी ज्ञानलाई मैदानमा उत्रिएर व्यावहारिक रूपमा सिक्न पाउँदा असाध्यै ठुलो अवसर मिलेको भन्दै सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया दिनुहोस्