२०८३ साउन १० , आइतबार
नयाँ प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेल घाेषणा

कानुन विपरीतका गतिविधि निस्तेज पारिनेछ



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका नवआगन्तुक प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलले जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

​आफ्नो कार्यकालमा प्रहरीको कार्यसम्पादनलाई उत्कृष्ट, पारदर्शी र पूर्ण रूपमा जनमुखी बनाइने एसपी पोखरेलले स्पष्ट पार्नुभयो।

​शान्ति सुरक्षा कायम गर्ने कार्य केवल प्रहरीको बलले मात्र सम्भव नहुने उल्लेख गर्दै उहाँले नागरिक र सञ्चार क्षेत्रको सहकार्य आवश्यक रहेको औँल्याउनुभयो। “प्रहरीको एक्लो प्रयासले मात्रै सबै थोक सम्भव हुँदैन,” एसपी पोखरेलले भन्नुभयो, “समाजमा शान्ति सु-व्यवस्था कायम गर्न हरेक नागरिक र सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुन्छ। हामी सही सूचनामा आधारित रहेर कानुन विपरीतका हरेक गतिविधिलाई निस्तेज पार्ने छौँ।”

​उहाँले हाल सुर्खेत जिल्लाको समग्र सुरक्षा अवस्था र विद्यमान चुनौतीहरूका विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको र सोही अनुसार रणनीति बनाएर अघि बढ्ने जानकारी दिनुभयो।

​अन्तरक्रियाका क्रममा सुर्खेतका पत्रकारहरूले प्रदेश राजधानी वीरेन्द्रनगर र आसपासका क्षेत्रमा पछिल्लो समय बढ्दै गएको सडक दुर्घटना, लागुऔषध (ब्राउन सुगर आदि) को खुला कारोबार एवं प्रयोग, र होटल तथा खाजाघरहरूमा हुने अवैध यौन गतिविधिलाई मुख्य चुनौतीका रूपमा औँल्याएका थिए। पत्रकारहरूले यी गम्भीर विषयहरूलाई प्राथमिकतामा राखेर विशेष अप्रेशन चलाउन नयाँ प्रहरी प्रमुखलाई सुझाव दिएका थिए।

​पत्रकारहरूको सुझाव र चासोप्रति सकारात्मक प्रतिक्रिया दिँदै एसपी पोखरेलले भन्नुभयो, “म कुरा कम र काम धेरै गर्ने व्यक्ति हुँ। मेरो कामको मूल्याङ्कन मैदानकै कार्यसम्पादनबाट हुनेछ। विकृति र विसङ्गति विरुद्धको यो अभियानमा म सम्पूर्ण सुर्खेतवासी र पत्रकार साथीहरूबाट पूर्ण सहयोगको अपेक्षा गर्दछु।”

प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार