२०८३ साउन १० , आइतबार
हुम्ला-बाजुरा सीमा विवाद

कर्णाली करिडोर अनिश्चितकालका लागि बन्दको घोषणा



बाजुरा । हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई लिएर ‘हिमाली युवा क्लब बाजुरा’ ले जेठ १० गते दिउँसो १ बजेदेखि कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। पटक-पटक सरोकारवाला निकायहरूसँग छलफल र सहमति भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै क्लबले आइतबार एक ज्ञापनपत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको हो।

​केही दिनअघि बाजुराको हिमाली गाउँपालिका–३ मा भएको अप्रिय घटनाको निष्पक्ष छानबिन, दोषीलाई कानुनी कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको माग गर्दै क्लबले करिडोर ठप्प पार्ने चेतावनी दिएको छ।

​हिमाली युवा क्लबका अनुसार हुम्लाका केही स्थानीय बासिन्दाहरू बाजुराको हिमाली गाउँपालिका–३ मा प्रवेश गरी स्थानीय वडा सदस्यको घरमा तोडफोड तथा लुटपाट मच्चाएका थिए। उक्त संवेदनशील घटना भइसक्दा समेत सम्बन्धित प्रशासनिक र सुरक्षा निकायहरू गम्भीर नदेखिएको क्लबको आरोप छ।

​तनावग्रस्त बनेको सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र पीडितलाई न्याय दिन सरकार उदासीन बनेकाले बाध्य भएर कडा कदम चाल्नु परेको ज्ञापनपत्रमा उल्लेख छ। उनीहरूले घटनामा संलग्न मुख्य दोषीहरूलाई तत्काल पहिचान गरी कडा कानुनी दायरामा ल्याउनुपर्ने, आक्रमणमा परी घाइते भएकाहरूको उचित उपचार र पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने, तोडफोड र लुटपाटबाट क्षति भएका घर तथा सम्पत्तिको वास्तविक मूल्याङ्कन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुई जिल्लाको सीमा क्षेत्र तथा स्थानीय बस्तीहरूमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र मजबुत बनाउनुपर्ने।

​क्लबले आफ्नो माग सुनुवाइका लागि दबाब दिन उक्त ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला प्रशासन कार्यालय हुम्लालाई समेत पठाएको छ। जेठ १० गतेअघि नै यसबारे ठोस सहमति नभए करिडोर पूर्ण रूपमा बन्द हुने आयोजकले स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार